.jpg)
काठमाडौं । दसैंको टीकाअघि प्रदर्शनमा आएका तीन फिल्मले अपेक्षित व्यापार नगरेपछि धेरैले ‘कबड्डी ५’बाट ठूलो आशा राखेका थिए । नभन्दै फिल्मले घरेलु बक्स अफिसमा सुनामी ल्याएको छ । कात्तिक ६ गते प्रदर्शन भएको फिल्मले वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्यो । पहिलो दिन फिल्मले झन्डै २ करोड कमाएको थियो । त्यसपछि पनि फिल्मको व्यापारिक रफ्तार उस्तै छ ।
तीन दिनमा ५ करोड २४ लाख रुपैयाँ ग्रस कमाएको फिल्मको अब ५ दिनको कमाइ विवरण सार्वजनिक भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले बुधबार एक पोस्टमार्फत फिल्मले ५ दिनमा ७ करोडमाथिको व्यापार गरेको जनाएको छ । निर्माता मणिराम पोखरेलका अनुसार फिल्मले दसैं विदा सकिएपछि पनि दैनिक १ करोडमाथिको व्यापार गरिरहेको छ ।
प्रदर्शनको छैटौँ दिनमा आइपुग्दा फिल्मले देशव्यापी २ सयभन्दा बढी शो पाएको छ । त्यसमा लगभग ४० प्रतिशत शो बुधबार हाउसफुल देखिएका छन् । दिउँसो र साँझका शोमा अकुपेन्सी बढिरहेका कारण फिल्मले छैटौँ दिनमा समेत एक करोड हाराहारी व्यापार गर्ने देखिन्छ । यही रफ्तार कायम रहे फिल्मले शनिबारसम्म १० करोडको आँकडा पार गर्नेछ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘सुपरहिट’को मान्यता दिइसकेको छ, त्यो पनि प्रदर्शनको दुई दिनमा । क्यूएफएक्सले आफ्नो चेनमा कुनै फिल्मले एक सातामा डेढ करोडको व्यापार गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गर्ने गरेको छ । ‘कबड्डी ५’ क्यूएफएक्समा दुई दिनमै सुपरहिट हुने पहिलो नेपाली फिल्म हो ।
थकाली समुदायको सामाजिक परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, रिश्मा गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, शिशिर बाङ्देल, कविता आले, अरुणा कार्की, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, प्रमिला राईलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

