
काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को ‘चाँदी जलप’ गीत यतिबेला चर्चामा छ । दुई महिनाअघि युट्युबमा सार्वजनिक भएको गीतलाई झन्डै ६० लाखले हेरिसकेका छन् भने १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । गीत दर्शकमाझ लोकप्रिय बनेसँगै विदेशमा फिल्मको माग समेत बढेको छ ।
अशोक थापा मगरको निर्देशनमा बनेको फिल्मको यसै साता अमेरिका र क्यानडाका लागि प्रदर्शन अधिकार बिक्री भएको छ । दुई देशको प्रदर्शन अधिकार पिएनएम एलएलसीले खरिद गरेको हो । फिल्मको अमेरिका र क्यानडाको प्रदर्शन मिति वितरक र निर्माताबीचको सल्लाहमा तय गरिने निर्देशक मगरले बताए ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा उपासना सिंह ठकुरी, सोनम ताप्देन, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गरुङ, बुद्धि तामाङ, उषा खड्गी, खड्क बहादुर पुन, लुनिभा तुलाधरलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा अभिनेता विजय लामा विशेष भूमिकामा छन् ।
निर्देशक मगर स्वयंको लेखन तथा सम्पादन रहेको फिल्ममा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, सुस्मिता बुढाथोकी र राधा थापा निर्मातामा छन् । फिल्मले मगर समुदायको संस्कृति र आस्थाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई केन्द्रमा राखेर प्रेमकथा प्रस्तुत गरेको छ ।

