Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा डुब्यो ‘१२ गाउँ २’, आखिर किन चलेन ?

फिल्मीखबर, काठमाडौँ, 2026/10/28

samir bhatta

 

काठमाडौं । करिब एक दशक मृतप्रायः रहेको एक्सन जनरालाई दुई वर्षअघिको दसैंमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ले बौराउने काम गर्‍यो । ‘छक्का पञ्जा ५’जस्तो ब्रान्ड फिल्मसँग प्रतिस्पर्धाका बाबजुद पनि फिल्मले बक्स अफिसमा झन्डै २० करोडको व्यापार गरेको थियो । यसलाई नेपाली एक्सन फिल्ममा अहिलेसम्मकै सर्वाधिक कमाइ मानिन्छ । 

‘१२ गाउँ’को व्यावसायिक सफलतापछि नेपालमा फेरि एक्सन युग फर्किएको चर्चा भएको थियो । यही आशामा ठूलो लगानीमा केही एक्सन फिल्म पनि बने । तर, कुनै चलेनन् । एक्सन स्टारको रूपमा चिनिएका निखिल उप्रेतीको ‘आचार्य’ले समेत हलमा घुँडा टेक्यो । यसपछि धेरैको आशा ‘१२ गाउँ’को सिक्वेलमाथि थियो । तर, यसले पहिलो भागको साख समेत जोगाउन सकेन ।

दसैंको अवसर पारेर असोज ३० गते प्रदर्शन भएको ‘१२ गाउँ २’ले बुधबारसम्म २ करोडभन्दा बढीको व्यापार गरेको जनाइएको छ । जबकि, यसको पहिलो भागले पहिलो साता ५ करोडमाथिको व्यापार गरेको थियो । पहिलो दिनदेखि नै अपेक्षित दर्शक नपाएको फिल्मले दोस्रो सातामा आइपुग्दा ६० प्रतिशत शो गुमाइसकेको छ । अहिले फिल्मको देशव्यापी शो ५० पनि छैन ।

‘१२ गाउँ २’ व्यावसायिक रूपमा असफल हुनुमा तीनवटा कारण प्रमुख देखिन्छन् । पहिलो, फिल्म रिलिजको संघारमा ‘१२ गाउँ’को युट्युब रिलिज । सुरुमा यसलाई निर्माताको रणनीतिक चाल मानिए पनि फिल्मले दर्शकबाट नकारात्मक प्रतिक्रिया पाउँदा त्यसको असर ‘१२ गाउँ २’लाई परेको प्रस्ट छ । युट्युबमा फिल्म हेरेका बहुसंख्यक दर्शकले यसको सफलतामाथि नै प्रश्न उठाएका थिए ।

फिल्म असफलताको अर्को कारण भने लेखनलाई मानिएको छ । कथा र पटकथा कमजोर हुँदा पात्र स्थापनादेखि द्वन्द्व निर्माणसम्म समस्या देखिन्छ । घटनाक्रम पनि सजिलै अनुमान गर्न सकिने हुँदा फिल्मले दर्शकमा उत्सुकता नै जगाउँदैन । एक्सनमा समेत नयाँपन नदेखिँदा फिल्मले सकारात्मक ‘वर्ड अफ माउथ’ पाउन सकेन, जुन असफलताको मुख्य कारण हो ।

यसपालिको दसैंमा फिल्म रिलिजको चाप उच्च हुनुले पनि ‘१२ गाउँ २’लाई असर गरेको विश्लेषण गरिएको छ । फिल्मले बक्स अफिसमा ‘आ बाट आमा २’ र ‘छ माया छपक्कै २’सँग प्रतिस्पर्धा गरेको थियो । तीन फिल्म एकसाथ प्रदर्शन हुँदा दर्शक र हल दुवै बाँडिए । त्यसमाथि दर्शकको प्रतिक्रिया पनि राम्रो नहुँदा फिल्मको व्यापारमा असर परेको देखिन्छ ।

‘१२ गाउँ २’को असफलताले एउटा कुरा छर्लङ्ग पारेको छ । अब दर्शक फिल्मले सन्तुष्ट बनाउँछ भन्ने विश्वास नभएसम्म सिक्वेलकै भरमा हलसम्म आउनेवाला छैनन् । ‘१२ गाउँ २’सँगै प्रदर्शनमा आएका ‘आ बाट आमा २’ र ‘छ माया छपक्कै २’ले समेत अपेक्षित दर्शक नपाउनुले सिक्वेलको नाम मात्रले फिल्म चल्ने दिन सकिएको संकेत गर्छ ।