.jpg)
काठमाडौं । यसपालिको दसैं अर्थात् टीकाअघि प्रदर्शन भएका तीन फिल्ममध्ये ‘आ बाट आमा २’ बक्स अफिसमा अगाडि देखिएको छ । सोमबार सार्वजनिक चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले १० दिनमा ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ । मंगलबारसम्म भने फिल्मले ५ करोड ५० लाख रुपैयाँ कमाएको निर्माताको दाबी छ ।
बुधबार निर्माता तथा निर्देशक चन्द्र पन्तले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मलाई सुपरहिट घोषणा गरेका छन् । उनका अनुसार फिल्मले लगानी उठाएर मुनाफा दिन थालेपछि सुपरहिटको ट्याग दिइएको हो । फिल्मको लागत जम्मा १ करोड ८० लाख रुपैयाँ रहेको उनको दाबी छ । यसमा प्रचारप्रसारको खर्च समेत जोडिएको छ ।
उनले भने, ‘मैले यो फिल्म पहिलो भागभन्दा कम लगानीमा बनाएको हुँ । छायांकन एउटै ठाउँमा गरेका कारण पनि लगानी बढ्न पाएन । विदेशका दुई ठाउँको छायांकन हामीले त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा गरेका हौं । यसैले त्यहाँ खासै खर्च भएन । नेपालमा भएका फिल्मका कन्सर्टहरू पनि प्रायः ‘स्पोन्सर्ड’ हुन् । यसैले यसपटक कम लागतमै फिल्म बन्यो ।’
निर्देशक पन्तले दाबी गरेझैँ फिल्मको कुल लागत (बजेट) १ करोड ८० लाख रुपैयाँ हो भने ‘आ बाट आमा २’लाई सुपरहिट मान्न सकिन्छ । कुनै फिल्मले लगानीको तीन गुणाभन्दा बढी व्यापार गरे त्यसलाई सुपरहिट मान्ने अघोषित प्रचलन विश्वमै छ । यो हिसाबले हेर्दा ‘आ बाट आमा २’ले घरेलु बजारमै लागतको तीन तीन गुणाभन्दा बढी व्यापार गरिसकेको छ ।
‘आ बाट आमा २’को खुद आम्दानी भने २ करोडभन्दा बढी देखिएको छ । फिल्मको मंगलबारसम्मको व्यापार (५ करोड ५० लाख)बाट हलको ५० प्रतिशत सेयर, स्थानीय कर, सर्भर चार्ज र वितरकको कमिसन काट्दा निर्माताले प्रति करोड ४० लाख रुपैयाँ सेयर पाउनेछन् । त्यो भनेको साढे ५ करोडको २ करोड २० लाख हाराहारी सेयर हो ।
तर, फिल्मले व्यावसायिक सफलता हासिल गरे पनि यसको व्यापार अपेक्षाभन्दा निकै कम हो । प्रदर्शनको दिनदेखि फिल्मको व्यापार स्थिर देखिएको छ । यद्यपि, दसैं बिदा सकिएपछि पनि फिल्मको अकुपेन्सी सन्तोषजनक छ । दर्शक प्रतिक्रिया भने मिश्रित देखिन्छ । अब फिल्मले पहिलो भागको साढे १३ करोडको आँकडा पार गर्न सक्छ कि सक्दैन भन्ने चासो धेरैमा छ ।

