Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यूएफएक्समा दुई दिनमै सुपरहिट बन्यो ‘कबड्डी ५’, कति पुग्यो कमाइ ?

फिल्मीखबर, काठमाडौं, 2026/10/25

kabaddi 5

 

काठमाडौं । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्म ‘कबड्डी ५’लाई प्रदर्शनको दुई दिनमै ‘सुपरहिट’ घोषणा गरेको छ । क्यूएफएक्सले आइतबार बिहान आफ्नो वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’को ट्याग दिएको हो । यसको अर्थ फिल्मले क्यूएफएक्स चेनमा दुई दिनमा डेढ करोडमाथिको व्यापार गरेको छ ।

क्यूएफएक्सले आफ्ना हलमा कुनै फिल्मले एक सातामा १ करोड ५० लाख रुपैयाँ बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ । यस वर्ष ‘गौँथली’ र ‘पेन्सन पट्टा’पछि ‘सुपरहिट’को ट्याग पाउने ‘कबड्डी ५’ तेस्रो फिल्म हो । सम्भवतः प्रदर्शनको दुई दिनमै क्यूएफएक्सबाट कुनै नेपाली फिल्मले ‘सुपरहिट’को मान्यता पाएको यो पहिलो पटक हो ।

कात्तिक ६ गते अर्थात् दसैंको टीकाको पर्सिपल्टबाट प्रदर्शनमा आएको ‘कबड्डी ५’ले अग्रिम बुकिङबाटै बक्स अफिसमा सुनामी ल्याउने संकेत गरेको थियो । फिल्मका एक सयभन्दा बढी शो अग्रिम बुकिङमै हाउसफुल भएका थिए । ‘डोर सेल’ पनि उत्साहजनक हुँदा फिल्मले १ करोड ५० लाखमाथिको विष्फोटक ओपनिङ गर्‍यो, जुन यस वर्षकै सबैभन्दा ठूलो ओपनिङ हो ।

दोस्रो दिन शनिबार फिल्मको शोमा उल्लेख्य वृद्धि हुँदा व्यापारमा झनै उछाल देखियो । शनिबार फिल्मले १ करोड ७० लाख रुपैयाँ हाराहारी कमाइ गरेको जनाइएको छ । योसँगै फिल्मको दुई दिनको व्यापार तीन करोड नाघेको छ । आइतबार पनि देशभर फिल्मको अकुपेन्सी उच्च रहेकाले तीन दिनमा चार करोडको आँकडा पार हुने देखिन्छ ।

 

kabaddi 5 photo


फिल्म प्रदर्शनमा आएदेखि अभिनेता दयाहाङ राईले पोखरेली दर्शकसँग प्रत्यक्ष भेट गरिरहेका छन् । पूर्वी नेपालमा विपिन कार्की र कमलमणि नेपालले प्रचारको मोर्चा सम्हालेका छन् । निर्देशक रामबाबु गुरुङसहित विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, पुष्कर गुरुङलगायतका कलाकारले भने काठमाडौंमा विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा रिश्मा गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, शिशिर बाङ्देल, कविता आले, अरुणा कार्की, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, प्रमिला राई, ज्ञानु जोशीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् ।