
काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को चौथो श्रृंखलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो । तर, न कथा सकिएको थियो न त्यो अन्तिम श्रृंखला थियो । चार वर्षपछि काजीको बाँकी कथा भन्न ‘कबड्डी ५’ निर्माण भएको छ, जुन यही शुक्रबार अर्थात् कात्तिक ६ गते प्रदर्शन हुँदैछ ।
निर्देशक रामबाबु गुरुङका अनुसार ‘कबड्डी ४’मा काजीको प्रेम जीवनको एउटा अध्याय मात्र सकिएको थियो । त्यसपछिको कथालाई अगाडि बढाउन ‘कबड्डी ५’ निर्माण गरिएको हो । उनी भन्छन्, ‘चौथो श्रृंखलालाई ‘द फाइनल म्याच’ नाम दिइनुको कारण काजीको प्रेम जीवनको एउटा अध्यायलाई टुंग्याउनु थियो । तर, कथा त त्यहाँबाट उता पनि हुन्छ नि ।’
‘कबड्डी ४’मा काजीको प्रेम जीवनको एउटा अध्याय पूरा भएपछि उसको व्यावहारिक पाटोलाई कोट्याउन पाँचौँ श्रृंखला निर्माण गरिएको गुरुङको भनाइ छ । ‘दर्शककै हौसलाले काजीको व्यावहारिक पाटो कोट्याउने सोच बन्यो । त्यही क्रममा दयाहाङसँग पाँचौँ श्रृंखलाबारे छलफल भयो । उसले पनि गरौँ न त भनेपछि मैले लेखन कार्य सुरु गरिहालेँ,’ उनले सुनाए ।
पाँचौँ भाग बनाउन आफूलाई कुनै बाध्यात्मक दबाब भने नरहेको उनी बताउँछन् । दर्शकको सकारात्मक प्रतिक्रियाले ‘कबड्डी ५’ बनाउन हौसला दिएको उनको भनाइ छ । समय बित्दै जाँदा पात्रहरूमा आएको परिपक्वता, उनीहरूको अनुभव र अघिल्ला कथालाई अझ अगाडि लैजाने इच्छाले पाँचौँ भागको आधार तयार भएको उनले बताए ।
‘कबड्डी’को पाँचौँ भागसम्म आइपुग्दा पात्रहरूको आफ्नै संसार निर्माण भइसकेको गुरुङको बुझाइ छ । भन्छन्, ‘एकदेखि अहिलेसम्म यसले जति दर्शक कमायो, ती दर्शक सँगसँगै पात्रहरू पनि हुर्किरहेका छन् । त्यही पात्रसँग हामी पनि लगातार काम गरिरहेका छौँ । यसैले यिनीहरूको कथा अब के होला भन्ने भइरहन्छ । ती पात्रहरूसँग हाम्रो आफ्नै ‘फिलिङ्स’ जोडिएको छ ।’
बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्मातामा छन् भने सागर राज सिनेमाका कार्यकारी निर्माताको रूपमा छन् ।

