मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’को चरित्रमा मैले जोखिम मोलेको हुँ : पूजा शर्मा

फिल्मीखबर, काठमाडौं, 2024/03/04

pooja sharma

 

अभिनेत्री पूजा शर्माले ‘प्रेमगीत’पछि रोमान्टिक भूमिकामा मात्र आफूलाई सीमित राखेकी थिइन् । तर, अब उनी चरित्रमा विविधता दिन खोजिरहेकी छन् । फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा देखिन लागेकी उनी यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’मा नकारात्मक लाग्ने चरित्रमा छिन् । पैसाका लागि ‘सुगर ड्याडी’ (धनी पुरुष) बनाउने चरित्रमा उनले काम गरेकी छन् ।

पूजाको भूमिका पहिला अभिनेत्री बेनिशा हमाललाई ‘अप्रोच’ गरिएको थियो । तर, उनले यसमा आफू नसुहाउने बताएपछि पूजाले काम गरेकी हुन् । ‘प्रायःले फिल्ममा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन् । तर, एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउन सक्नुपर्छ भन्ने लाग्छ । यो मेरो लागि नयाँ चिज हो । मैले ‘उपहार’को चरित्रमा जोखिम नै मोलेको हुँ’, पूजा भन्छिन् ।

आफ्नो अपोजिटमा शिशिर राणा भएकाले काम गर्न धेरै सजिलो भएको उनको अनुभव छ । किनकि, राणासँग उनले यसअघि पनि काम गरिसकेकी छन् । तर, पूजा आफैंलाई नकारात्मक चरित्र मनपर्दैन । ‘उपहार’मा नकारात्मक चरित्र निभाउँदाको अनुभवबारे उनी भन्छिन्, ‘यो चरित्र निभाइरहँदा कस्तो नराम्रो देखिने रैछु भन्ने महसुस भयो । तर कलाकारले जस्तो पनि चरित्र निभाउनुपर्छ ।’

 

pooja sharma


उनले फिल्ममा आफूले निभाएको जस्तो चरित्र समाजमा धेरै देखेकी छन् । उनले त्यस्तो काम नगर्न सल्लाह पनि दिने गरेकी छन् । फिल्ममा उनको चरित्रको नाम पनि ‘पूजा’ नै हो । गाउँबाट सहर झरेकी युवतीको भूमिकामा आफूले काम गरेको उनी बताउँछिन् । ‘मेरो चरित्रले गलत बाटो पनि अपनाउँछ । अहिलेका टिनएजमा भैरहेको घटनालाई मेरो चरित्रबाट देखाएका छौं,’ उनले भनिन् ।

पूजाको बुझाईमा अहिले युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्नेमा केन्द्रित छ । ‘उपहार’मा आफ्नो चरित्रबारे थप स्पष्ट पार्दै उनी अगाडि भन्छिन्, ‘फिल्ममा पूजालाई पनि जस्तोसुकै काम गरेर भए पनि पैसा कमाउनुपर्छ भन्ने छ । तर उसमा आफूले गलत काम गरिरहेको छु र त्यो गर्नुहुन्न भन्ने सोच पनि हुन्छ ।’ फिल्ममा उनको जोडी नव-अभिनेता समर्पणजंग कार्कीसँग बाँधिएको छ ।