मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

फिल्मको करोड व्यापार देखाउने होडबाजी, तर भित्री कथा अर्कै

फिल्मीखबर, काठमाडौं, 2024/03/04

चलचित्र विकास बोर्डमा आएपछि अभिनेता भुवन केसीले नेपाली र विदेशी फिल्मको बक्स अफिस तथ्यांक सार्वजनिक गर्न थालेका थिए । केही चरण बोर्डकै लेटरप्याडमार्फत् फिल्मको त्रेमासिक र वार्षिक व्यापार सार्वजनिक गरियो । मिडियालाई पनि नियमित रुपमा बोर्डबाट बक्स अफिस रिपोर्ट उपलब्ध हुँदै आएको थियो । जसले गर्दा फिल्म क्षेत्रमा भ्रमको खेती लगभग रोकिएको थियो ।

बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक नगर्दा निर्माता र वितरकले मनलाग्दी रुपमा फिल्मको व्यापार देखाउँदै आएका थिए । १० लाख पनि नकमाएको फिल्मले ५० लाख कमाएको भन्दै हौवा फैलाउने प्रतिस्पर्धा चलेको थियो । धेरै व्यापार देखाउँदा फिल्म राम्रो चलेको छ भन्ने भ्रम सिर्जना हुने भएकाले हलमा दर्शक बढ्ने र विदेशमा फिल्म बेच्न सजिलो हुने विश्वास नेपाली निर्माताहरुमा छ ।

बोर्डले फिल्मको कमाई सार्वजनिक गर्न थालेपछि धेरै व्यापार देखाउने होडबाजी रोकिएको थियो । तर, त्यसको छटपटीमा नेपाली निर्माताहरुको रुवाबासी सुरु भयो । अध्यक्ष केसीले नियोजित रुपमा फिल्मको कमाई सार्वजनिक गरेको भन्दै धेरैले आरोप लगाए । विदेशी फिल्म किन्ने वितरकहरुले पनि बोर्डलाई व्यापार सार्वजनिक नगर्न दबाब दिएका थिए । अन्ततः बोर्डले पनि घुँडा टेक्यो ।

 

nepali movie


बोर्डले करिब ७ महिनादेखि बक्स अफिस तथ्यांक नै सार्वजनिक गरेको छैन । जसले गर्दा फेरि भ्रमको खेती सुरु भएको छ । केही महिनायता एकपछि अर्को नेपाली फिल्मले करोडको व्यापार देखाइरहेका छन् । माघ २६ गते प्रदर्शन भएको फिल्म ‘दयारानी’का निर्माताले तीन दिनमा १ करोड २५ लाख कमाएको दाबी गरेका थिए । त्यसपछि २ करोड ५० लाख कमाएको अर्को दाबी गरियो ।

‘दयारानी’पछि करोडको व्यापार देखाउन फागुन ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गोर्खा वारियर’ले पनि छाडेन । चार दिनमा फिल्मले १ करोड ५१ लाख कमाएको दाबी निर्माण टिमले गरेको थियो । तर, त्यसपछि फिल्मको व्यापार सार्वजनिक गरिएको छैन । यही शुक्रबारदेखि प्रदर्शनमा आएको अर्को फिल्म ‘अगस्त्य’ले पनि २ दिनको व्यापार १ करोड २० लाख रहेको दाबी गरेको छ ।

एकपछि अर्को फिल्मका निर्माताले करोडको दाबी गरे पनि त्यो पुष्टि हुने आधार देखिन्न । किनकि, कात्तिक महिनायता कुनै नेपाली फिल्ममा दर्शकको उत्साहजनक चाप देखिएको छैन । एकाध हल हाउसफुल भए पनि प्रायःमा दर्शकको खडेरी नै देखिन्छ । तर, बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक नगर्दा निर्माताहरुलाई करोड दाबी गर्न सहज भएको छ । यसको पछाडि ठूलो रहस्य छ ।

अचेल विदेश राइट्सबाट नेपाली निर्माताले राम्रो पैसा हात पार्ने गरेका छन् । कति फिल्म नेपाल रिलिज अगावै त कति रिलिजपछि विदेशमा विक्री हुने गर्छन् । दुवैको हकमा नेपालमा फिल्म राम्रो चलेको सन्देश जान आवश्यक हुन्छ । त्यो हुँदा विदेशमा फिल्मको माग चर्किन्छ । यसैले पनि हलमा दर्शकको खडेरी भए पनि करोड कमाएको देखाउन नेपाली निर्माताहरुमा होडबाजी चलेको छ ।

अहिले सार्वजनिक भैरहेका नेपाली फिल्मको व्यापार बक्स अफिस तथ्यांकसँग नमिल्ने चलचित्र विकास बोर्डको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘विभिन्न कारणले बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न नसकेको हो । तर, अहिले सार्वजनिक भैरहेका नेपाली फिल्मको रिपोर्ट र बक्स अफिस रिपोर्टबीच ठूलो अन्तर देखिन्छ ।’ केही निर्माताले एक करोडसम्म बढी देखाएको स्रोत बताउँछ ।