मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’मा बालेनको विरोध होइन, काठमाडौंको यथार्थता छ : ज्ञानेन्द्र देउजा

फिल्मीखबर, काठमाडौं, 2024/03/02

Gyanendra Deuja

 

यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएपछि काठमाडौंका मेयर बालेन शाहको विरोधमा फिल्म बनेको भन्दै टिप्पणी भइरहेको छ । ट्रेलरमा फुटपाथ व्यापरीहरुमाथि महानगरको धरपकड र डोजरले अनाधिकृत संरचनाहरु भत्काइएको दृश्य समावेश छ । र, अभिनेत्री रेखा थापाको एक संवादले फुटपाथ व्यापारीको समर्थन गरेको देखिन्छ ।

तर, निर्देशक ज्ञानेन्द्र देउजाले फिल्ममा बालेनको विरोध नभइ काठमाडौंको यथार्थतालाई देखाउन खोजेको बताएका छन् । उनी भन्छन्, ‘फिल्ममा मकैं बेच्नेदेखि चिया बेच्नेसम्मको कथा छ । यो भूइँमान्छेको कथा हो । हरेक पात्रको आफ्नै उद्देश्य छ । अहिले नै फिल्म बालेन विरोधी भनेर नभनौं । फिल्म रिलिजपछि थाहा हुन्छ । खासमा मैले काठमाडौंको यथार्थतालाई देखाउन खोजेको छु ।’

फिल्मले समसामयिक विषय उठाउनुपर्छ भन्ने मान्यतामा आफूले ‘उपहार’ बनाएको उनको जिकिर छ । ‘फिल्ममा समाजको कथा छ । विषय त्यत्ति ठूलो छैन । काठमाडौंलाई एक फन्को लगाउँदा हामीले देख्ने कथाहरुलाई समेटेर मनोरञ्जनपूर्ण फिल्म बनाएको छु,’ उनले भने । लामो समयदेखि एउटै किसिमका फिल्म हेर्दै आएका दर्शकलाई ‘उपहार’ फरक लाग्ने समेत देउजाको दाबी छ ।

‘सधैं मासुभात मात्र किन खाने ? कहिलेकाहीँ खिर पनि खाउँ भनेर मैले विषयवस्तु ल्याएको छु । पछिल्लो समय आएका फिल्मको भन्दा ‘उपहार’को कथा विल्कुलै फरक छ,’ उनी थप्छन्, ‘फिल्म हेरेपछि दर्शक खुसी भएर जानुहुन्छ, यो मेरो ग्यारेन्टी हो ।’ उनको बुझाईमा फिल्म आम मानिसको भोगाईको कथा हो । यसैले फिल्मको कथामा दर्शकले अपनत्व महसुस गर्ने देउजाको विश्वास छ ।