मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’को चरित्रबारे अर्पण भन्छन्, ‘टिपिकल भिलेन हुँ’

फिल्मीखबर, काठमाडौं, 2024/02/29

हरेक प्रकारको चरित्रमा आफूलाई ढाल्न सक्ने खुबी भएका अभिनेता हुन्, अर्पण थापा । विशेषगरी नकारात्मक चरित्रमा उनी रुचाइएका छन् । यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’मा पनि उनी भिलेनको भूमिकामा छन् । उनको चरित्र ग्याङस्टर हो । उनी ग्याङस्टर चरित्रमा अभिनय गर्नु आफ्नो रुचि रहेको जिकिर गर्छन् ।

‘रङ्गेली’मा आफ्नो चरित्रबारे उनी भन्छन्, ‘भगवान् दादा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधीनमा राखेको हुन्छ । प्रशासनदेखि लिएर धेरै कुरामा उसको हस्तक्षेप हुन्छ । मान्छेमा धेरै पावर भइसकेपछि पावरको लेभल बढ्दै जाने हो । त्यसको मात्रा बढ्दै गएपछि राजनीतिक कुरालाई पनि जोड्ने हो । मैले काम गरिरहँदा मलाई प्रशासनले र आफूले गरिरहेको कामले गाह्रो बनाउने अवस्था आउँछ । म ‘रङ्गेली’को मुख्य प्रोटागोनिस्ट हुँ ।’

अर्पण आफ्नो चरित्र भगवान् दादालाई टिपिकल भिलेनको रुपमा परिभाषित गर्छन् । ‘मलाई यस्तै क्यारेक्टर मनपर्छ । किनभने यसमा अलिक बढी भेरिएसन दिन पाइन्छ । लुक्स र गेटअपले गर्दा मलाई दर्शकले युरोपियन लुक्स जस्तै देखिएको भन्छन् । तर फिल्ममा मलाई दर्शकले टिपिकल लोकल लुक्समा देख्नुहुन्छ । एक तहमा मेरो लुक्स केही फरक छ,’ अर्पणको दाबी छ ।

 


फिल्मको तयारी गर्दा अर्पणले धेरैपटक ‘लुक टेस्ट’ गरेका थिए । कुन पहिरन लगाउने भन्ने विषयमा लामो छलफल भएको थियो । तर, ‘लुक टेस्ट’ गर्दा र सेटमा पुगेपछि उनको लुगामा परिवर्तन गरिएको रहेछ । ‘मैले सेटमा धोती र कालो सट लगाएर पहिलो सट दिएको थिएँ । त्यो लुगा सबैले मन पराएपछि पहिरन परिवर्तन नगर्ने निर्णयमा पुग्यौँ । मेरो चरित्रका लागि चारवटा कोट र पाइन्ट तयार पारिएका थिए । ट्रेलरमा देखिएको कालो र सेतो रङ्गको पहिरनले मेरो चरित्रलाई जस्टिफाई गर्‍यो,’ अर्पण भन्छन् ।

अर्पणको बुझाईमा कोही पनि ग्याङस्टर बन्दैन । समाज र वातावरणले ग्याङस्टर बनाउने उनको तर्क छ । ‘ग्याङस्टर बन्ने भन्दा पनि बनाउने हो । समाजले अथवा यदि म त्यो वातावरणमा बच्चैदेखि विकसित भइरहेको छु भने त्योभन्दा बाहिर सोच्दिनँ । त्योभन्दा बाहिर बन्ने हैसियत मेरो छैन भने कमजोरीको स्तरले सो बाटोमा ढल्काउँछ । तर यदि त्यो ठाउँमा तपाईँ विज्ञ भएर बस्नुभयो भने तपाईँको त्यही विषयमा प्रोफेसन हल्का परिवर्तन गर्न खोज्दा रहेछन्,’ उनी अगाडि भन्छन्, ‘जस्तो कि भगवान् दादा पनि बिस्तारै आफ्नो इमेज छोडेर राजनीतिमा लागे जस्तै वास्तविक जीवनमा ग्याङस्टरले गर्ने त्यही हो । नेपाल होस् या संसारको कुनै पनि कुनामा होस्, यो चलन नै हो ।’

अर्पण तराईतिरको बसाईमा खासै भिजेका थिएनन् । स्क्रिप्टअनुसार आफूलाई तयार पारेका उनले सेटमा पुगेपछि भने चरित्रमा केही अदलबदल गरेका थिए । उनी स्मरण गर्छन्, ‘छायाङ्कनमा गएपछि दुई/चारवटा कुरा धेरै देखियो । यहाँ यस्तो हुँदो रहेछ भनेर थाहा भयो । यो कुरालाई चाहिँ मान्छेले जिज्ञासाको रूपमा राख्छन् या यो कुरालाई मान्छेले खासै मतलब पनि गर्दैनन् भन्ने कुरा जोडिन थालेपछि त्यही अनुसार क्यारेक्टरलाई केही अदलबदल चाहिँ गर्‍यौं ।’

अर्पण ‘रङ्गेली’लाई आफ्नो विधाअनुसार बनेको फिल्म मान्छन् । फिल्मको विधाअनुसार नै कथा बगेको उनको दाबी छ । ‘अक्सर फिल्ममा एउटा विधा भन्छौं, तर त्यसको खिचाई र परिवेश फरक हुन्छ । ‘रङ्गेली’मा चाहिँ विधाअनुसार नै कथा बगेको छ । विधा र ठाउँ अनुसारको लुक चाहिने भएकाले त्यही नै एडप्ट गरिएको छ । फिल्मका साना–साना चरित्र पनि कथा सुहाउँदो र विश्वासिला बनेका छन्,’ उनी सुनिए ।

सुशन प्रजापतिको छायांकन रहेको ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अर्पणका साथै दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरुमा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् छन् ।