मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अगस्त्य’ : उच्च हाइप, उच्च अपेक्षा

फिल्मीखबर, काठमाडौं, 2024/02/29

Saugat Malla

 

केही वर्षयता नेपाली फिल्ममा सामाजिक विषयवस्तुले प्रधानता पाइरहेको छ । त्यसमा कमेडी हाबी देखिन्छ । तर, एक्सनको भने अभाव खड्किँदै आएको छ । कुनै समय नेपाली फिल्ममा एक्सनकै बोलबाला थियो । राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट जस्ता स्टारहरु सुस्ताएसँगै एक्सन फिल्मको ट्रेन्ड भत्कियो । बलिउड र साउथले भने यतिबेला एक्सनलाई नै जोड दिइरहेका छन् ।

नेपाली फिल्ममा एक्सनको अभाव भैरहेको समयमा फिल्म ‘अगस्त्य’ले केही आशा देखाएको छ । साउथको झल्को दिने गरी तयार पारिएको टिजर र ट्रेलरपछि फिल्मको हाइप उच्च बनेको छ । एक्सनका पारखीलाई फिल्मले हलमा आकर्षित गर्न सक्ने सम्भावना प्रवल देखिन्छ । टिजर र ट्रेलरले फिल्मप्रति दर्शकको अपेक्षा पनि बढाएको छ । फिल्मका लागि सबैभन्दा ठूलो चुनौती नै यही हो ।

फिल्मको हाइपअनुरुप एडभान्स बुकिङमा त्यो उत्साह देखिएको छैन । हुन त नेपालमा अनलाइनबाट टिकट बुकिङको ट्रेन्ड खासै फस्टाइसकेको छैन । फिल्मको टिकट काउन्टरबाटै बढी विक्री हुने गरेको पाइन्छ । ‘अगस्त्य’लाई पनि अब ‘डोर सेल’को भर छ । त्यसका लागि अब्बल ‘माउथ पब्लिसिटी’को आवश्यकता पर्नेछ । बिहीबार प्रिमियरमा प्राप्त हुने प्रतिक्रिया पनि महत्त्वपूर्ण रहनेछ ।

एकातिर टिजर र ट्रेलरले ‘अगस्त्य’को हाइप उत्कर्षमा छ भने अर्कोतिर कलाकारको ‘लाइनअप’ बलियो छ । फिल्मको ओपनिङमा प्रभाव पर्ने यी ठूला आधार हुन् । फिल्मले देशभर डेढ सय हाराहारी शोज पाएको छ । सुखद् ओपनिङका लागि यो पर्याप्त शोज हो । ‘अगस्त्य’ले व्यापारमा उछाल कायम गरेको अवस्थामा नेपाली फिल्ममा एकपटक फेरि एक्सनको युग सुरु हुनसक्ने देखिन्छ ।

सौरभ चौधरीको निर्देशन रहेको यस फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायतको अभिनय छ । सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट प्राप्त गरेको फिल्मको लम्बाई २ घण्टा ५० मिनेट निर्धारण गरिएको छ । ‘अगस्त्य’ यही शुक्रबार अर्थात् फागुन १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।