मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रा’को साख बचाउनुपर्ने चुनौती बोकेको ‘महाजात्रा’

फिल्मीखबर, काठमाडौं, 2024/02/28

mahajatra

 

नेपाली फिल्म क्षेत्रमा केही कुराको होडबाजी छ भने त्यो सिक्वेल निर्माणको हो । एउटा फिल्म चलेपछि त्यसलाई दुहुनो गाई बनाएर बेच्ने चलन छ । सिक्वेल आफैंमा ‘खाली चेक’ मानिन्छ । यसैले पनि मेकरहरु सिक्वेलमै बढी जोड दिइरहेका हुन्छन् । तर, नेपालमा कथाको मागले भन्दा पनि नामको लोभमा सिक्वेल बनिरहेका छन् । यसले गर्दा सिक्वेल फिल्मप्रति दर्शकको मोह भंग भैरहेको छ ।

यद्यपि, ‘जात्रा’को श्रृंखलाले भने आफ्नो साख गुम्न दिएको छैन । दोस्रो श्रृंखला (जात्रै जात्रा)लाई कथाकै निरन्तरताको रुपमा निर्माण गरिएको थियो । फिल्म सफल पनि भयो । तथापि, ‘जात्रा’ जत्ति बलियो सिक्वेल बन्न नसकेको आलोचना निर्देशक प्रदीप भट्टराईले खेप्नुपरेको थियो । तर, अरु सिक्वेल फिल्ममा जस्तो ‘जात्रै जात्रा’माथि उत्तिधेरै प्रश्न उठेनन् । किनकि, फिल्म आफ्नो लयमा थियो ।

‘जात्रा’ श्रृंखलाको विशेषता भनेकै ‘सिचुएशनल कमेडी’ हो । संवाद, हाउभाउ र हुलियाबाट मात्र हँसाउने चेष्टा गरिएको हुँदैन । बरु परिस्थिति र प्रवृत्तिले स्वभाविक रुपमा हाँसो पैदा गर्छ । यसैले पनि ‘जात्रा’ श्रृंखलाप्रति दर्शकको विश्वास कायम छ । अब यसको तेस्रो सिक्वेल ‘महाजात्रा’ आगामी चैत ९ गतेबाट प्रदर्शन हुँदैछ । यसलाई ठूलो चुनौती भनेकै ‘जात्रा’ले बनाएको साख जोगाउनु हो ।

विपिन कार्की, वर्षा राउत, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ ‘जात्रा’ श्रृंखलाका मेरुदण्ड हुन् । ‘जात्रै जात्रा’मा भने अभिनेता दयाहाङ राई थपिएका थिए । ‘महाजात्रा’मा अभिनेता हरिवंश आचार्य भित्रिएका छन् । जसले गर्दा फिल्मको घटनाक्रम थप रोचक बनेको हुनसक्ने देखिन्छ । एकातिर ब्रान्ड नाम र अर्कोतिर कलाकारको लाइनअपले फिल्मको व्यापार बलियो हुने आँकलन गरिएको छ ।

निर्देशक प्रदीप भट्टराईले कमाएको विश्वास पनि ‘महाजात्रा’ चल्ने एउटा ठूलो आधार हो । ‘जात्रा’ श्रृंखला होस् वा ‘महापुरुष’, उनले दर्शकलाई निराश बनाएका छैनन् । कथावाचनमा पनि उनको परिपक्वता देखिन्छ । जसले गर्दा दर्शकको एउटा ठूलो वर्ग उनको फिल्मको प्रतिक्षामा रहने गरेको छ । त्यो विश्वासलाई ‘महाजात्रा’बाट पनि कायम राख्नुपर्ने चुनौतीको भारी निर्देशक भट्टराईमा छ ।