मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड अभिनेता अनुपम खेरलाई मनपर्‍यो ‘गोर्खा वारियर’ ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2024/02/25

anupam kher

 

बलिउडका नामी अभिनेता अनुपम खेरले पहिलोपटक नेपाली फिल्मको ट्रेलर हेरेर प्रशंसा गरेका छन् । उनले आइतबार ७० लाख फलोअर्स रहेको इन्स्टाग्राम स्टोरीमा फिल्म ‘गोर्खा वारियर’को पोस्टर सेअर गर्दै ट्रेलर मनपरेको जनाएका हुन् । निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर मनपर्‍यो ।’ उनले तालीको इमोजीसहित ह्यासट्यागमा नेपाल उल्लेख गरेका छन् ।

अनुपम नेपाल आइरहने बलिउड सेलिब्रेटीमा पर्छन् । नेपालको धर्म, संस्कृति, भाषा, साहित्यको बारेमा पनि विशेष चासो राख्ने उनी २ वर्ष अगाडि फिल्म ‘उचाइँ’को छायांकनका लागि करिब दुई हप्ता काठमाडौंसहित लुक्ला र नाम्चे क्षेत्रमा बसेका थिए । उनले धेरै नेपाली कलाकारलाई समेत अभिनय सिकाएका छन् । मुम्बईमा उनको अभिनयसम्बन्धी कोर्स गराउने ‘एक्टर प्रिपियर्स’ स्कूल छ ।

अनुपम खेरले ट्रेलरको प्रशंसा गरेपछि ‘गोर्खा वारियर’लाई लिएर घरेलू दर्शकमा चासो उब्जिएको छ । यसले व्यापारमा पनि सघाउ पुर्‍याउन सक्ने देखिन्छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले केही सहरमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी पूर्व गोर्खा सैनिक र उनीहरुको परिवारलाई फिल्मले आकर्षित गरेको छ । अब फिल्मको व्यापार भनेको ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ ।

यो फिल्ममा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु लगायतको अभिनय छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको फिल्मको मेकिङ र द्वन्द्वको प्रशंसा भैरहेको छ । फिल्मले ७० वर्ष अगाडिको नेपाली समाजको अवस्था पनि देखाएको छ ।