Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्लिन रेडकार्पेटमा कार्मदेखि सोनमसम्मले छरे फेसन जादू

फिल्मीखबर, काठमाडौं, 2024/02/24

 

विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने बर्लिन फिल्म फेस्टिभलको ७४औं संस्करणमा नेपालबाट मीन भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ प्रतिस्पर्धामा छ । बर्लिनको अन्तर्राष्ट्रिय विधामा छानिएको फिल्मको शुक्रबार साँझ फेस्टिभलमा वर्ल्ड प्रिमियर गरियो । प्रिमियरअघि फिल्मले पाएको ५ वटा पब्लिक शोज ‘सोल्डआउट’ भएको थियो । यसले विश्वमा नेपाली फिल्मको प्रभाव दर्शाउँछ ।

 


प्रिमियरअघि ‘शाम्बाला’ टिम पत्रकार सम्मेलनमा सहभागी भएर बर्लिनको रेडकार्पेटमा समेत हिँडेको थियो । निर्देशक भाम कालो रंगको कोट पाइन्टमा ठाटिएका थिए भने अभिनेता कार्मले सेतो रंगको आकर्षक फूलबुट्टे दौरामा नेपालको झन्डा अंकित लोगो लगाएका थिए । फिल्मका अर्का अभिनेता सोनम तोप्देन र अभिनेत्री थिन्ले ल्हामो भने शेर्पा समुदायको पहिरनमा देखिएका थिए ।

 


पत्रकार सम्मेलनमा निर्देशक भामले बर्लिनमा आफ्नो फिल्म मात्र नभइ नेपालको पनि प्रतिनिधित्व गर्न पाएकोमा खुसी व्यक्त गरे । फिल्म प्रिमियरपछि द हलिउड रिपोर्टरले समीक्षा लेख्दै नेपालको हिमाली दृश्यको प्रशंसा गरेको छ । समीक्षामा माइकल एन्जेलो एन्टोनियोनीद्वारा निर्देशित एक इटालियन नाटक फिल्म ‘एल'अवेन्तूरा’ (१९६०)सँग ‘शाम्बाला’ मिल्दोजुल्दो रहेको पनि उल्लेख छ ।

 


हलिउड रिपोर्टरले समीक्षामा भनेको छ, ‘फिल्मले पितृसत्तात्मक नेपाली संस्कृतिको बारेमा पनि भन्छ, जसमा पेमाजस्ता महिलाहरु आफ्ना पतिको आरोपविरुद्ध आफ्नो सद्गुणको रक्षा गर्न बाध्य छन् ।’ ‘शाम्बाला’ले ज्ञान प्रदान गर्ने पनि समीक्षामा भनिएको छ । निर्देशक भाम र अविनाश विक्रम शाहको संयुक्त लेखन रहेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाईंमा खिचिएको हो ।

Most Visited News (monthly)