मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘अगस्त्य’ : ४४ डिग्री तापक्रममा ६ दिन खाली खुट्टा दौडिएका सौगात

फिल्मीखबर, काठमाडौं, 2024/02/21

चरित्र निर्माणका लागि नेपाली कलाकारहरुले आवरणमा बढी मिहिनेत गरेको पाइन्छ । कपाल पाल्ने या खौँरिने, हुलिया फेर्ने, तौल घटाउनु र बढाउनु नै चरित्र निर्माण हो भन्ने धेरैको बुझाई छ । तर, यो आवरणको मिहिनेत हो । कुनै पनि चरित्रलाई आत्मसात् गर्न त्यसको चिन्तन, प्रवृत्ति, सोच, स्वभाव र आचरणलाई अनुभूति गर्न सक्नुपर्छ । अभिनेता सौगात मल्लमा केही हदसम्म यो गुण छ ।

फिल्म ‘पशुपति प्रसाद २’को चरित्र निर्माणका लागि उनले हप्तौंसम्म पशुपति क्षेत्रमा विताएका थिए । त्यहाँका साधुसन्तसँग उनको उठबस भयो । मधेशी लवज टपक्क टिपेका थिए । यसैले त फिल्मको चरित्रमा पनि उनी जीवन्त देखिए । अब उनी अभिनीत नयाँ फिल्म ‘अगस्त्य’ यही फागुन १८ गतेबाट प्रदर्शन हुँदैछ । यसमा पनि सौगातले चरित्र निर्माणका लागि पर्याप्त मिहिनेत गरेका छन् ।

उनले छायांकन सुरु हुँदा १७ केजी तौल घटाएका थिए, त्यो मानसिक सन्तुलन गुमेको भूमिकाका लागि थियो । र, पहिलो चरणको छायांकनपछि उनले पहिला घटेकोबाट १० केजी तौल बढाएका थिए, त्यो एक्सन भूमिकाका लागि थियो । अर्थात् दुई चरणमा उनले तौल घटबढ गर्नुपरेको थियो । विशेषगरी उनले मानसिक सन्तुलन गुमेको चरित्रका लागि गरेको मिहिनेत निकै दर्दनाक देखिन्छ ।

 

saugat malla


फिल्मको पहिलो चरणको छायांकन भारतको गोखरपुरमा भएको थियो । निर्देशक सौरभ चौधरीका अनुसार, त्यसबेला गोखरपुरको तापक्रम ४४ डिग्री थियो । आगोको भुङ्ग्रोजस्तो भएको सडकमा सौगातले ६ दिनसम्म खाली खुट्टा दौडिएको सिन दिएका थिए । जसले गर्दा उनको खुट्टाको छाला उप्किएको थियो । ४ दिनसम्म सौगातलाई जेलभित्र झुण्ड्याएर समेत छायांकन गरिएको थियो ।

निर्देशक चौधरी सम्झन्छन्, ‘जेलभित्रको सिनमा सौगात दाईलाई ४ दिनसम्म दिनभरि नै उल्टो पारेर झुण्ड्याइएको थियो । त्यसबेला दाईले खपेको पीडा म हेर्न पनि सक्दिनँ थिएँ । दाईलाई गाह्रो भएपछि १०/१० मिनेटमा भूइँमा झारेर फेरि झुण्ड्याइन्थ्यो । दाईका लागि त्यो क्षण भयंकर दर्दनाक थियो । सौगात दाईले त्यो कसरी खप्नुभयो भनेर अहिले सम्झँदा पनि मेरो शरीरमा काँडा उम्रिन्छ ।’

निर्देशक चौधरीका अनुसार, सौगातले मानसिक सन्तुलन गुमेको चरित्रका लागि डेढ महिना नुहाएका थिएनन् । जसले गर्दा उनको शरीर मैलोले कालो भएको थियो । नङ र हात फोहोर हुँदा उनले खाना पनि चम्चाले खाने गरेका थिए । उनका लागि कपडा रेलवे ट्रयाकबाट उठाइएको थियो । तिनै फ्यालिइएका लुगा लगाएर सौगातले सुटिङ गर्थे । र, राति पनि त्यही लगाएर सुत्ने गरेका थिए ।

तर, सौगातले सुटिङको बेला गरेको मिहिनेतलाई दुःखको रुपमा लिएका छैनन् । ट्रेलर रिलिज कार्यक्रममा उनले भनेका थिए, ‘त्यो क्यारेक्टर गर्दा मलाई रमाइलो लागेको थियो । मलाई रमाइलो लाग्ने चीज नै यही हो । फिल्मबाहेक मलाई अरुमा रुचि छैन । यसैले फिल्ममा मिहिनेत गर्दा रमाइलो मान्छु । अहिले सम्झँदा त्यो क्षण गाह्रो थियो भन्ने लाग्छ । काम गर्दा चाहिँ रमाइलो लागेको थियो ।’