मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दयारानी’ले गर्‍यो हिट दाबी

फिल्मीखबर, काठमाडौं, 2024/02/20

dayarani

 

माओत्से गुरुङको डेब्यू निर्देशित फिल्म ‘दयारानी’लाई हिट दाबी गरिएको छ । मंगलबार एक पोस्टरमार्फत् कलेक्सन रिपोर्टसहित हिट दाबी गरिएको हो । फिल्मको कलेक्सन २ करोड ५० लाख उल्लेख छ । यद्यपि, फिल्मको कलेक्सनलाई पुष्टि गर्ने आधार छैन । किनकि, तालुकवाला सरकारी निकाय चलचित्र विकास बोर्डले केही महिनादेखि बक्स अफिस तथ्यांक सार्वजनिक गरेको छैन ।

फिल्मको कलेक्सन रिपोर्टसहितको पोस्टर अभिनेता दयाहाङ राईले फेसबुकमा साझेदार गर्दै दर्शकप्रति आभार व्यक्त गरेका छन् । दोस्रो हप्तामा पनि फिल्मलाई मल्टीप्लेक्सहरुले सुखद् शो बाँडेका छन् । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बुधबारका लागि देशभर २८ शोज उपलब्ध गराएको छ, जुन उत्साहप्रद हो । यसले पनि फिल्मको व्यापार राम्रो रहेको देखाउँछ ।

विशेषगरी पोखरामा फिल्मको व्यापार बलियो छ । त्यहाँको मिडटाउन सिनेमाजले बुधबारका लागि चार शो उपलब्ध गराउनुले पनि पोखरामा दर्शकको चाप राम्रो रहेको संकेत गर्छ । पोखरा निर्देशक गुरुङको जन्मथलो हो । यसैले त्यहाँका हलमा उनको नामको प्रभाव बढी परेको हुनसक्छ । बुटवल, दमौली र इटहरीका हलमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो रहेको वितरकको दाबी छ ।

‘दयारानी’मा दयाहाङ राईको जोडी अभिनेत्री दीया पुनसँग बाँधिएको छ । विजय बराल, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ लगायतको पनि अभिनय रहेको फिल्मले निःसन्तान दम्पतीको कथा उठाएको छ । फिल्ममा ‘ए हो र, आफू को हो र !’ संवाद बोल्ने नयनको कामलाई दर्शकले विशेष रुचाएका छन् । फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।