मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्लिन फेस्टिभलमा छानिएको मीनको ‘शाम्बाला’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/02/19

SHAMBHALA

 

‘कालो पोथी’ निर्देशक मीन बहादुर भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ यही शुक्रबार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । यसका लागि निर्देशक भामसहितको टिम बर्लिन पुगेको छ । फिल्म प्रिमियरको पूर्वसन्ध्यामा अंग्रेजी सबटाइटलमा ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट हाराहारीको ट्रेलरमा बहुपति प्रथासँग जोडेर पेमा पात्रको माध्यमबाट कथा भनिएको छ ।

पेमा (थिन्ले ल्हामो)को एउटै घरका तीन दाजु-भाईसँग विवाह हुन्छ । र, उनीहरुमध्ये एक श्रीमान् व्यापारका लागि ल्हासा जान्छन् तर फर्किँदैनन् । यसपछि उसको खोजीमा गर्भवती पेमाले गर्ने यात्रालाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा टिबेटियन भाषाको बढी प्रयोग छ । नेपाली भाषा एक दृश्यमा मात्र सुन्न पाइन्छ । कार्म, सोनम तोप्देन लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् ।

‘शाम्बाला’को ट्रेलर बर्लिन फिल्म फेस्टिभलका लागि तयार पारिएको हो । बर्लिनको प्रमुख प्रतिस्पर्धा अर्थात् अन्तर्राष्ट्रिय विधातर्फ यो फिल्म छानिएको छ, जसमा विश्वका अरु १९ वटा फिल्म प्रतिस्पर्धामा छन् । बर्लिनको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । १४ करोडको बजेटमा निर्माण भएको फिल्मले निर्माणअघि थुप्रै अन्तर्राष्ट्रिय ‘फन्ड’ जितिसकेको थियो ।

निर्देशक भाम र ‘लोरी’ निर्देशक अविनाश विक्रम शाहको संयुक्त लेखन रहेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाईंमा खिचिएको हो । नेपालसँगै फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा निर्माण भएको फिल्मको पहिला ‘चिसो वर्ष’ शीर्षक थियो । ६ वर्षमा ४४ वटा ड्राफ्ट लेखिसकेपछि निर्देशक भामले फिल्मको नाम ‘शाम्बाला’ राखेका हुन् ।