मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर’को धरान प्रिमियरमा मुख्यमन्त्री र मेयरले भने- ‘यो फिल्म इतिहास हो’

फिल्मीखबर, काठमाडौं, 2024/02/18

 

यही फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको जंगल वारमा आधारित पहिलो नेपाली फिल्म ‘गोर्खा वारियर’को धरानमा प्रिमियर गरिएको छ । प्रायः फिल्मको काठमाडौं केन्द्रित प्रिमियर हुने गरेको भए पनि निर्देशक मिलन चाम्सले फिल्मको कथावस्तुअनुसार नेपालमा पहिलो प्रिमियर धरानमा गरेका हुन् । किनकि, धरान लाहुरेको सहर हो । र, फिल्मले उठाएको कथा पनि लाहुरेको हो ।

 


शनिबार दिउँसो सहर परिक्रमासहित फ्रेन्ड्स सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित फिल्मका निर्देशक मिलन चाम्स, कलाकारहरु विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रेअर राई, त्रिचु राई लगायत सहभागी भएका थिए । धरान प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।

 

kedar karki and milan chams


प्रिमियरपछि मुख्यमन्त्री कार्कीले फिल्मले इतिहासलाई जीवित राखेको भन्दै प्रशंसा गरे । उनले भने- ‘फिल्मले देशको गौरव मात्र देखाएको छैन । इतिहासलाई जीवित राख्न पनि प्रयास गरेको छ । यो फिल्मले हाम्रो इतिहास, हाम्रो गौरव, हाम्रो पुर्खाको वीरता र सौर्यलाई जस्ताको त्यस्तै उतारेर हामी नयाँ पुस्तालाई पुर्खाको वीरगति र वीरताप्रति गौरव गर्ने जिउँदो इतिहास देखाइदिएको छ ।’

 

harka sampang rai


त्यस्तै, धरानका मेयर साम्पाङले फिल्म हेरिरहँदा आफू धेरैपटक रोएको बताए । ‘फिल्म हेरिरहँदा म धेरैजसो समय रोइरहेको थिएँ । फिल्मको कथामा मैले आफैंलाई महसुस गरेँ । युद्धको बेलाको दुःख, आमाले छोरा पर्खिनु पर्दाको पीडाले मलाई छोयो,’ उनले भने, ‘म आफैं लाहुरेको परिवारमा जन्मिएकाले फिल्मको पात्रहरुमा मैले मेरै बाउ-बाजेको अनुहार देखेँ । यो फिल्म इतिहास हो ।’

 


निर्देशक चाम्सले लाहुरेको अर्को सहर पोखरामा पनि भोलि सोमबार साँझ प्रिमियर गर्दैछन् । त्यसपछि फागुन ९ गते काठमाडौंमा प्रिमियर हुनेछ । यसअघि गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा फिल्मको प्रिमियर गरिएको थियो । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर फिल्म बनेको हो ।