Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(23 votes, avg 4.74/5.00)
Text size:-
+
-

‘कबड्डी कबड्डी कबड्डी’ ले गर्ला बम्पर ओपनिङ ?

फिल्मीखबर, काठमाडौं, 2019/09/20
यस वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । ‘कबड्डी’ बाट मौलिक कथा पस्किएका निर्देशक रामबाबु गुरुङ निर्देशित यस फिल्मले देशभरका मल्टीप्लेक्स र सिंगल दुबै स्क्रिनमा आफ्नो बलियो उपस्थिति जनाएको छ । मल्टीप्लेक्समा यो फिल्मले सर्वाधिक सोज पाएको छ, जुन यसअघि कुनै नेपाली फिल्मले पाएका थिएनन् । 
 
‘कबड्डी’ मा निश्चल बस्नेत र दोस्रो पार्टमा सौगात मल्लसँग ‘मैयाँ’ उर्फ रिश्मा गुरुङलाई पाउन दयाहाङ राई (वीरकाजी) ले मायाको कबड्डी खेलेका थिए । तर, दुबै श्रृंखलामा उनले ‘मैयाँ’ पाएनन् । तेस्रो पार्टमा काजीको सिद्धान्त डगमगाउन सोल्टिनी अर्थात् अभिनेत्री उपासना सिंहको प्रवेश भएको छ । के काजीले सौगातसँग भागेकी ‘मैयाँ’ लाई विर्सिएर सोल्टिनीसँग पिरती गाँस्लान् ? यही प्रश्नको जवाफ खोज्न दर्शक हल पुग्ने अपेक्षा गरिएको छ । 
 
 
ट्रेलर र गीतसंगीतले फिल्मको राम्रो हाइप निर्माण गरेका कारण त्यसको प्रभाव बक्सअफिसमा पर्ने अनुमान गरिएको छ । फिल्मप्रति दर्शकमा देखिएको चासो र मल्टीप्लेक्सले बाँडेको सोज हेर्दा ‘कबड्डी कबड्डी कबड्डी’ ले बम्पर ओपनिङ गर्ने संकेत गर्छ । प्रदर्शनको शुक्रबार र शनिबार सार्वजनिक विदा भएकाले फिल्मले दुई दिनमा २ करोड ५० लाखमाथि व्यापार गर्ने ट्रेड एनालिस्टको पूर्वानुमान छ । आइतबारबाट भने ‘वर्ड अफ माउथ’ मा भर पर्नेछ । 
 
‘कबड्डी २’ मा प्रेममा राजनीति घुसाएका निर्देशक गुरुङले यसपटक स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेका छन् । ‘कबड्डी ४’ मा ‘काजी’ लाई मुक्ति दिने गरि उनले ‘कबड्डी कबड्डी कबड्डी’ लाई त्यही अनुसार विट मारेका छन् । फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । 
 
जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि नेपाली फिल्मको व्यापार पूरै सुस्ताएको छ । आश गरिएका फिल्म समेत बक्सअफिसमा खरो उत्रन सकेनन् । हरेक हप्ता निर्माताको करोडौंको लगानी बालुवामा पानी खन्याएझैँ भइरहेको अवस्थामा ‘कबड्डी कबड्डी कबड्डी’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापार चरम विन्दूमा पुर्‍याउने अपेक्षा गरिएको छ । यो फिल्मले सोलो रिलिज पाएका कारण पनि राम्रो व्यापार गर्ने फिल्मकर्मीको विश्वास छ । 
Most Visited News (monthly)