Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि फिल्म निर्देशनबाट पछि हटे निश्चल, सिमोसको हातमा ‘दिमाग खराब’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/08/06
फिल्म ‘लुट’ रिलिज हुनुभन्दा अगाडि नेपाली फिल्मको अवस्था निकै नाजुक थियो । चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा ‘संकटकाल’ घोषणा गर्ने तयारी गरेको थियो । तर, निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘लुट’ ले ‘संकटकाल’ को अवस्थालाई मात्र चिरेन, नेपाली फिल्ममा कथावाचन शैलीलाई परिवर्तन पनि गर्‍यो । त्यसअघि दुई/चारवटा एक्सन र रोनाधोनका दृश्यले फिल्म धानिएका थिए । 
 
‘लुट’ ले नेपाली फिल्ममा ल्याएको परिवर्तनको श्रेय निर्देशक निश्चल बस्नेतलाई दिने गरिन्छ । उनले फिल्म क्षेत्रमा घोषणा हुन लागेको ‘संकटकाल’ तोडे, कथावस्तु भन्ने शैली फेरिदिए, फिल्ममा लगानी गर्ने वातावरण तयार गरे, आँखामा लगाम लगाएर अन्धाधुन्ध दौडिरहेको फिल्म क्षेत्रलाई फरक दिशा दिए । त्यसैले एक समय उनलाई नेपाली फिल्म क्षेत्र हाँक्ने ड्राइभर भन्ने गरिन्थ्यो । तर, अहिले त्यो साहसी ड्राइभर फिल्म निर्देशन गर्न डराएको छ । 
 
गएको तीन वर्ष अगाडि उनी निर्देशित फिल्म ‘लुट २’ रिलिज भएको थियो । तर, फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन । कथावाचनमा उनी चुकेको आरोप लाग्यो । यो उनले स्वीकार पनि गरे । यद्यपि, फिल्मले व्यापार भने गतिलै गरेको थियो । यो फिल्मपछि उनले नयाँ फिल्म निर्देशन गर्ने आँट जुटाउन सकेका छैनन् । ‘लुट २’ पछि घैंटोमा घाम लागेको बताउने उनले पटक-पटक आफूलाई स्क्रिप्ट चित्त बुझे मात्र फिल्म गर्ने बताउँदै आएका छन् । 
 
 
पछिल्लो समय उनी फिल्मको हिरो भएका छन् । त्यो पनि महँगा र डिमान्डेड । हालै उनले निर्देशक हेमराज विसीले निर्देशन गरेको फिल्म 'घामड शेरे' को छायांकन भ्याए । चाँडै उनी 'दुई रुपैयाँ' टिमको नयाँ फिल्म 'डामाडोल' पनि गर्दैछन् । उनलाई फिल्मको आइटम गीतमा ठुम्का लगाउनदेखि गीतमा आवाज भर्न पनि भ्याइनभ्याइ छ । उनले फाट्टफुट्ट म्यूजिक भिडियो पनि गर्ने गरेका छन् । 
 
उनी फिल्म निर्देशनबाट दूरी बनाएर अभिनयमा रमाइरहँदा दर्शक र फिल्मकर्मीमा चिन्ता बढेको छ । उनलाई सधैं फिल्म निर्देशनमा फर्किन सुझाव आउने गरेका छन् । तर, उनी कानमा तेल हालेर बसेका छन् । गएको वर्ष उनले 'भद्रगोल' टिमको फिल्म 'फनफनी' निर्देशन गर्ने फाइनल भएको थियो । तर, स्क्रिप्ट चित्त नबुझेपछि उनले फिल्मबाट हात झिके । यसपछि उनी आफ्नै निर्माण र निर्देशनमा फिल्म ‘दिमाग खराब’ बनाउन कस्सिए । 
 
तर, उनी फेरि फिल्म निर्देशनबाट पछाडि हटेको जानकारी प्राप्त भएको छ ।  निश्चलले ‘दिमाग खराब’ निर्देशन गर्ने जिम्मा 'झ्यानाकुटी' निर्देशक सिमोस सुनवारलाई सुम्पिएको स्रोत बताउँछ । अहिले सिमोस फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । निर्देशन गर्ने आँट जुटाउन नसके पनि यो फिल्ममा निश्चलको अभिनय भने रहने बताइएको छ । अभिनेत्री स्वस्तिमा खड्काको पनि अभिनय रहने सम्भावना छ । 
 
अहिले निर्देशक सुनवारको हातमा ‘दिमाग खराब’ सहित दुई फिल्म छ । उनले दीपकराज गिरी र दीपाश्री निरौला टिमसँग मिलेर पनि फिल्म बनाउँदैछ । दशैंमा रिलिज हुने फिल्म ‘छ माया छपक्कै’ पछि उनले उक्त फिल्म सुरु गर्ने जानकारी प्राप्त छ । फिल्मको निर्देशन सिमोसले गर्नेछन् भने कथा प्रदीप भारद्वाजले लेखिरहेका छन् । दीपक-दीपाको समुहले मुनाफाको ६० प्रतिशत लिने सर्तमा सिसोमसँग सहकार्य गर्न लागेको हो । 
Most Visited News (monthly)