करीब ६ महिनादेखि निकै ठूलो आश गरिएका फिल्म समेत नचलेर ठन्डाराम रहेको नेपाल फिल्मको व्यापारलाई नयाँ वर्ष २०७६ को छेकोमा प्रदर्शनमा आएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले राम्रै चलायमान बनाएका छन् । फेरि धेरैपछि फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । दुई फिल्मले दर्शकको ठूलो भीड हलसम्म ल्याउन सफल भएपछि रिलिजको मुखमा रहेका धेरै फिल्मका निर्माताको अनुहारमा खुसी छाएको छ ।
‘ए मेरो हजुर ३’ ले पहिलो हप्ताको कलेक्सनबाटै निर्माताको लगानी सुरक्षित गरिसकेको छ । भने, शुक्रवार (दोस्रो हप्ता) बाट फिल्म मुनाफाको बाटोमा अगाडि बढेको छ । घरेलु बक्सअफिसमा फिल्मको लाइफटाइम कलेक्सन ८ देखि ९ करोडको आसपास हुने अनुमान फिल्म पण्डितहरुको छ । यस्तै, महँगो लागतमा निर्माण भएको फिल्म ‘यात्रा’ पनि लागतको करीब नजिक पुगेको निर्माता तथा वितरक शुशील पोखरेलले जानकारी दिएका छन् ।
(1).jpg)
उनी चाँडै फिल्मले लगानी सुरक्षित गर्ने विश्वासमा छन् । उनका अनुसार, फिल्मले अहिलेसम्म लगानीको करीब ८० प्रतिशत उठाइसकेको छ । फिल्मीखबरसँग फोनर्वार्तामा उनले भने- 'पहिलो हप्ता फिल्मले राम्रो व्यापार गर्यो । दोस्रो हप्ता पनि कलेक्सनमा ठूलो गिरावट आएको छैन । हल संख्या अझै घटेको छैन । हामी लगभग घरेलु बजारबाटै सुरक्षित हुन्छौं भन्नेमा विश्वस्त छौं ।' उनी फिल्मको अहिले विदेशमा चर्को डिमाण्ड रहेको बताउँछन् ।
उनले फिल्मको पहिलो हप्ता र दोस्रो हप्ताको सोमवारसम्मको कलेक्सन भने खुलाउन चाहेनन् । निर्माता पोखरेलले फिल्म प्रदर्शनमा आएको तीन दिनको कलेक्सन आँकडा भने सार्वजनिक गरेका थिए । फिल्मले प्रदर्शनको तीन दिनमा १ करोड ७५ लाख कमाएको उनको भनाई थियो । उनी भन्छन्, 'अब फिल्मको कलेक्सन रिपार्ट सरकारलाई ट्याक्स तिरेपछि पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नेछौं । फिल्म कस्तो चल्यो त्यही बेला स्पष्ट हुनेछ ।'
‘यात्रा’ लाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । उनले डेब्यू फिल्मबाटै निर्देशनमा राम्रो सम्भावना देखाएका छन् । उनीबाट धेरैले अर्कोपल्ट दमदार फिल्मको अपेक्षा राखेका छन् । लिड रोलमा रहेका स्टाइलिस अभिनेता सलिनमान बनिया र डेब्यू गर्ल मलिका महतको अभिनयको फिल्म हेर्ने अधिकांशले प्रशंसा गरेका छन् । फिल्ममा सलोन बस्नेत, राजाराम पौडेल, रेअर राईलगायतका कलाकारहरुकोे पनि अभिनय छ । फिल्मका प्रस्तुतकर्ता केशव भट्टराई हुन् ।

