
जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मिलन चाम्स निर्देशित फिल्म ‘बीर विक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतले राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा फिल्मका चार लिड कलाकार फिचर्ड छन् ।
सार्वजनिक ६ पोस्टरमध्ये दुईमा अभिनेत्री वर्षा सिवाकोटीलाई अभिनेता द्वय पल शाह र नाजिर हुसेनको अंगालोमा रोमान्टिक मुडमा देख्न सकिन्छ । भने, तेस्रो पोस्टरमा तीन स्टार्स खुसी मुद्रामा देखिएका छन् । बाँकी तीन पोस्टरमा पल, नाजिर र वर्षासँगै कलाकार बुद्धि तामाङ पनि देखिएका छन् । फिल्ममा उनी नेगेटिभ रोलमा छन् ।
केही दिनमा निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्दैछन् । यो फिल्म करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘बीर विक्रम’ को सिक्वेल हो । तर, निर्देशक तथा निर्माता चाम्स फरक कथावस्तुमा निर्माण भएका कारण सिक्वेल नभएको बताउँछन् । ‘बीर विक्रम’ मा नाजिरसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए ।
‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । उनले निर्देशक चाम्सका हरेक फिल्म खिच्दै आइरहेका छन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

