
श्रीराम राघवनको निर्देशनमा बनेको फिल्म ‘अन्धाधुन’ चीनको बक्सअफिसमा सबैभन्दा बढी कमाई गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ । आयुष्मान खुराना, तब्बू र राधिका आप्टे स्टारर यो फिल्मले अहिलेसम्मकै सबै रेकर्ड ध्वस्त पार्दै तीन सय करोडको आँकडा छोएको छ । सबैभन्दा बढी कमाईको मामलामा अब यो फिल्मभन्दा अगाडि मात्र दुईवटा फिल्म छ ।
ट्रेड एनालिस्ट तरण आदर्शले चीनमा 'अन्धाधुन' को लेटेस्ट बक्सअफिस आँकडा सार्वजनिक गरेका छन् । फिल्मले अहिलेसम्म ४३.४५ मिलियन डलर कमाएको छ । यो फिल्मको सुमन्ने अब ५० मिलियन डलर कमाईको बेन्चमार्क छ । तेस्रो हप्तामा फिल्मले शुक्रवार १.६१ मिलियन डलर, शनिवार ३.४५ मिलियन डलर र आइतवार २.९३ मिलियन डलर कमाएको छ ।
भारतमा ७५ करोड कमाएको यो फिल्मले अहिलेसम्म चीनको बक्सअफिसमा भने ४३.४५ मिलियन डलर छापेको छ । अर्थात् करीब ३ सय करोड भारतीय रुपैयाँ कमाई सकेको छ । यो कमाईसँगै 'अन्धाधुन' ले चीनमा सबैभन्दा कमाई गर्ने टप तीन भारतीय फिल्ममा आफ्नो स्थान बनाएको छ । यो फिल्मले सलमान खानको फिल्म 'बजरंगी भाईजान' लाई समेत उछिनेको छ ।
अब चीनमा सबैभन्दा बढी कमाई गर्ने भारतीय फिल्ममा 'अन्धाधुन' भन्दा अगाडि आमिर खानको 'दंगल' र 'सीक्रेट सुपरस्टार' छ । यो लिस्टमा चौथो नम्बरमा 'बजरंगी भाईजा'न र पाँचौ नम्बरमा इरफान खानको फिल्म 'हिन्दी मिडियम' छ । 'अन्धाधुन' ३२ करोडमा निर्माण भएको फिल्म हो । यसमा आयुष्मानले एक पियानो प्लेयरको भूमिका निभाएका छन् ।

