म्यूजिक भिडियो हुँदै नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाइसकेका अभिनेता पल शाह प्रायः दैनिक रुपमा टिभी वा युट्युबमा नयाँ-नयाँ गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा वा नयाँ मोडलसँग रोमान्स गर्दै देखिरहेका हुन्छन् । तर, उनी सिल्भर स्क्रिनमा नदेखिएको भने करीब एक वर्षभन्दा बढी भइसकेको छ । उनी अभिनीत फिल्म 'शत्रु गते' एक वर्ष अगाडि हलमा लागेको थियो ।
चकलेटी ब्वाई एक वर्षपछि फिल्म 'वीरविक्रम २' मार्फत् दर्शक भेट्दैछन् । यो फिल्म आउँदो जेठ ३ मा रिलिज हुँदैछ । 'पिरतीको मिठो तिर्सना' र 'वाचा' बोलको गीतका कारण चर्चामा रहेको यो फिल्ममाथि पलको निकै ठूलो आशा र अपेक्षा छ । यो फिल्म रिलिजको तीन महिनापछि उनको नयाँ फिल्म प्रदर्शनमा आउँदैछ ‘हृदय भरी’ । भदौ २७ मा यो फिल्म आउने तय भइसकेको छ ।
लभस्टोरी फिल्ममा निकै रुचाइएका उनी आफ्नो दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' र तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' मा एउटै लुक्समा प्रस्तुत भएका थिए । अर्थात् आफ्नो लामो कपाल छोट्याएका थिएनन् । यद्यपि, 'शत्रु गते' मा उनको लुक्स केही भिन्न थियो । तर, 'वीरविक्रम २' मा उनी आफ्नो पुरानो फेभरेट हेयर स्टाइलमै देखिँदैछन् । यसमा उनले 'म यस्तो गीत गाउँछु' कै हेयर स्टाइल दोहोर्याएका छन् ।
.jpg)
अहिलेसम्म अभिनयमा भर्सटालिटी देखाउन नसकेका पल लुक्स परिवर्तनमा पनि खासै गम्भीर देखिने नगरेको कतिपयको टिप्पणी छ । निर्देशक सुरज सुब्बा (नाल्बो) को फिल्म ‘हृदय भरी’ को घोषणा सभामा उनलाई पत्रकारले सोधेका पनि थिए- ‘सधैं एउटै लुक्समा रमाउने हो ?’ उनले रुखो जवाफ फर्काउँदै भनेका थिए, ‘तपाईंहरु नै जान्ने हुनुहुन्छ कस्तो लुक्स बनाउँदा राम्रो हुन्छ सल्लाह दिनुहोला ।’
पत्रकारको प्रश्नको कारणले हो वा चरित्रमा डुब्नका लागि हो, उनले ‘हृदय भरी’ मा लुक्स परिवर्तन गरेका छन् । केही दिन अगाडि फिल्म 'वीरविक्रम २' को 'वाचा' बोलको गीत सार्वजनिक कार्यक्रममा उनी परिवर्तित लुक्समा देखिएका थिए । उनले आफ्नो लामो कपाल पूरै छोट्याएका छन् । उनलाई नयाँ लुक्स निकै जचेको देखिन्थ्यो । ‘हृदय भरी मा उनी एक पोल्ट्रिफार्म सञ्चालकको भूमिकामा देखिँदैछन् ।
उनको नयाँ लुक्सले पनि केही हदसम्म यस फिल्मप्रति दर्शकमा चासो बढ्ने देखिएको छ । यसमा उनको श्रद्धा क्षेत्रीसँग जोडी बाँधिएको छ । हाल यस फिल्मकोृ छायांकन धमाधम चलिरहेको छ । फिल्ममा पल र श्रद्धासँगै नीर शाह, सुनिल थापा, अनुराग कुवँर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसीलगायतका कलाकारहरुकोे अभिनय रहनेछ । मानकृष्ण महर्जनले फिल्म खिचिरहेका छन् ।

