अफस्क्रिन जोडीहरु अहिले एकपछि अर्को प्रोजेक्टमा लगातार सहकार्य गरिरहेका छन् । यसका एक उदाहरण हुन् अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी । मिडियामा चर्चाको कमी नहुने र दर्शकमा पनि निकै चासो रहने हुँदा फिल्ममेकर्स प्रेम जोडीलाई लिएर फिल्म बनाउन मरिहत्ते गर्दछ । तर, लगातार रियल जोडी पर्दामा दोहोरिरहँदा मिडियासँगै दर्शकको चासो पनि घट्दै जान थाल्छ । यसको उदाहरणका लागि पनि प्रियंका र आयुष्मान फिट छन् ।

प्रेम जोडीको बारेमा चर्चा हुँदा अहिले अग्रणी स्थानमा आउने नाम हो अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ । उनीहरु केही वर्षयता एकअर्काको प्रेममा रमाइरहेका छन् । गएको महिना मात्र क्वालिटी टाइम स्पेन्ड गर्न दुई गोवा पुगेका थिए । हातमा फिल्म पर्न छाडेपछि उनीहरु घुमघाम व्यस्त हुन थालेको चर्चा पनि छ । प्रेम सम्बन्धमा रहनुभन्दा अगाडि दुबैको फिल्ममा गजबको डिमाण्ड थियो । तर, अहिले फिल्ममेकर्स उनीहरुलाई लिएर जोखिम उठाउन चाहेको देखिँदैन ।
फिल्ममा बिस्तारै डिमाण्ड घट्न थालेपछि सौगात र सृष्टिले साथमा काम गर्न थालेका छन् । उनीहरुले सञ्जिव न्यौपाने निर्देशित फिल्म 'मासु भात' मा काम गरिसकेका छन् । यो दुईले स्क्रिन साझेदारी गरेको पहिलो फिल्म हो । यसअघि फिल्म 'लालपूर्जा' मा पनि दुईले काम गरेका थिए तर साथमा स्क्रिन साझेदारी गर्न पाएका थिएनन् । यसबीच, फेरि उनीहरुबीच सहकार्य भएको छ फिल्म ‘पोई पर्यो काले’ मा । यो फिल्म सौगात र सृष्टिले एक दिनको अन्तरमा साइन गरेका हुन् ।
फिल्ममा दुईको जोडी बाँधिन्छ वा बाँधिदैन ? यसबारे निर्माण टिमले कुनै जानकारी दिएको छैन । यो फिल्म सौगातले बिहीवार साइन गरेका थिए भने शुक्रवार साँझ सृष्टि अनुबन्ध भएकी थिइन् । उनीहरुभन्दा अगाडि यस फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा भित्रिसकेका छन् । अब सौगात र सृष्टिको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो देखिएको छ । शुक्रवार नै फिल्ममा अभिनेता सोहित मानन्धर पनि अनुबन्ध भएका छन् ।
.jpg)
जेठबाट छायांकन सुरु हुने फिल्मलाई शिशिर राणाले निर्देशन गरेका छन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म 'तिमीसँग' एक वर्ष अगाडि प्रदर्शनमा आएको थियो । फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको फिल्मका निर्माता दिपक मनाङ्गे हुन् । फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमको संगीत रहनेछ । निर्देशक राणाले रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई फिल्मले प्रस्तुत गर्ने बताएका छन् ।

