Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाजिर र वर्षालाई ‘वीरविक्रम २’ को आश

फिल्मीखबर, काठमाण्डौ, 2019/04/19
जस्तोसुकै भूमिकामा पनि सशक्त अभिनय गर्ने क्षमता राख्ने अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा सिवाकोटीलाई जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वीरविक्रम २’ माथि धेरै ठूलो आशा छ । निदाउन लागेको फिल्म करिअरलाई यस फिल्मले ब्यूँझाउने उनीहरुको विश्वास छ । मिलन चाम्स निर्देशित यस फिल्ममा अभिनेता पल शाह पनि प्रमुख भूमिकामा छन् । यस फिल्मको गीतसंगीतले अहिले राम्रो हाइप बनाइरहेको छ । 
 
 
 
नाजिरको पछिल्लो दुई फिल्म 'गरुड पुराण' र 'कागजपत्र' बक्सअफिसमा नराम्रोसँग पछारिएको थियो । फिल्म असफल भए पनि प्रायः उनको भूमिका र गरेको अभिनयको जोडतोडले प्रशंसा हुने गरेका थिए । तर, यसपटक यो पनि भएन । दुई फिल्ममा न उनको भूमिका सम्झनलायक थियो न त अभिनय नै तारिफयोग्य । अहिले धेरैले उनी फिल्म छनोटमा चुकेको र पैसामुखी भएको आरोप लगाउन थालेका छन् । अचेल उनले हातमा आएका कुनै फिल्म उम्काएको देखिन्न । 
 
हरेक फिल्ममा नाजिरको एकैखाले लाग्ने भूमिका र अभिनयबाट अब दर्शक पनि आजित हुन थालेका छन् । उनले अभिनयमा विविधता पस्किन सकेका छैनन् । 'गरुड पुराण' र 'कागजपत्र' ले निराश बनाएको दर्शक अब उनलाई ‘वीरविक्रम २’ बाट फकाउनु पर्ने चुनौती छ । साथै, उनलाई सुस्त करिअर चुस्त रुपमा अगाडि बढाउन एक हिट फिल्मको पनि खाँचो छ । यसका लागि पनि यो फिल्म बक्सअफिसमा राम्रो चल्नुपर्ने हुन्छ । 
 
उता, नाजिरको जस्तै हालत छ अभिनेत्री वर्षाको पनि । उनका पनि पछिल्ला कुनै फिल्म सफल छैनन् । गत वर्ष उनी अभिनीत फिल्म 'भैरे', 'जय शम्भु' र 'पुरानो पुलेट' प्रदर्शनमा आएका थिए । तीनै फिल्म बक्सअफिसमा डुबे । उनको अभिनयको प्रशंसा पनि भएन । बरु, उनी गत वर्ष एकपछि अर्को फिल्म छाडेको कारणले चर्चामा रहिन् । लगातार फिल्म असफल हुँदा अहिले उनलाई फिल्मवृतमा अनलक्की नायिका भनिन थालिएको छ । 
 
 
 
वर्षाको पनि ‘वीरविक्रम २’ माथि निकै ठूलो आशा र भरोसा छ । ‘वीरविक्रम २’ हिट फिल्मको दोस्रो सिरिज भएका कारण उनी यसपटक आफ्नो खातामा एक हिट फिल्म थपिनेमा विश्वस्त छिन् । यसैले होला उनी फिल्म प्रदर्शनमा आउन एक महिना बाँकी रहँदै प्रचार प्रसारमा हिँड्न थालिसकेकी छन् । यसमा उनले नाजिर र पलसँग रोमान्स गरेकी छन् । फिल्ममा उनी बादलको भूमिकामा छिन् । 
Most Visited News (monthly)