Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ र ‘यात्रा’ लाई ‘कलंक’ कति थ्रेट ?

फिल्मीखबर, काठमाण्डौ, 2019/04/19
करीब ६ महिनापछि नेपाली फिल्म क्षेत्रमा गजबको चहलपहल बढेको छ । ठूलो आशा गरिएका फिल्महरु नै लगाताार असफल हुन थालेपछि न नयाँ फिल्म घोषणा हुन सकेका थिए न त कुनै फिल्म फ्लोरमै गएका थिए । नेपाली फिल्म क्षेत्र नै घरासायी हुने अवस्थामा पुगेको थियो । चैत २९ का दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ भने नेपाली फिल्म क्षेत्रका लागि सञ्जीवनी बुटी बनेर आएका छन् । दुई फिल्मले हराएको भनिएको नेपाली फिल्मका दर्शकलाई हल फर्काएको छ । 
 
शुक्रवारबाट दोस्रो हप्तामा लागेका दुई फिल्मले पहिलो हप्ता बक्सअफिसमा राम्रो पैसा छापे । दर्शकले दुबै फिल्मलाई रुचाएका छन् । व्यापारमा भने ‘यात्रा’ भन्दा धेरै अगाडि छ ‘ए मेरो हजुर ३’ । ‘यात्रा’ ले तीन दिनमा १ करोड ७५ लाख कमाएको निर्माताको दाबी छ भने ‘ए मेरो हजुर ३’ ले चार दिनमा ४ करोड छापेको रिपोर्ट प्राप्त छ । ‘ए मेरो हजुर ३’ ले पहिलो हप्तामा नै निर्माताको लगानी सुरक्षित गरेको बताइएको छ । ठूलो लगानीका कारण ‘यात्रा’ ले भने अझै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ । 
 
पहिलो हप्ता बक्सअफिसमा दुई फिल्म एकअर्काका लागि ठूलो 'थ्रेट' थिए । दोस्रो हप्ता भने नेपाली दुई फिल्मलाई बलिउडको ठूलो फिल्म ‘कलंक’ चट्टान बन्ने देखिएको छ । भारतमा बुधवार नै रिलिज भएको यो फिल्म शुक्रवारबाट नेपालमा प्रदर्शनमा आएको छ । यसले मल्टीप्लेक्सहरुमा उच्च सोज हात पाएको छ भने अग्रिम बुकिङमा नै फिल्मको टिकट सर्वाधिक विक्री भएको छ । मुलुकको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले राजधानीको पाँच स्टेशनमा यसलाई कुल २० सोज बाँडेको छ । 
 
 
राजधानी भित्र र मोफसलका अन्य मल्टीप्लेक्सहरुले पनि यसलाई उच्च सोज प्रदान गरेका छन् । नेपालका मल्टीप्लेक्सले बाँडफाँड गरेको सोजलाई गर्दा ‘कलंक’ ले भारतमा झैँ नेपालमा पनि बम्पर ओपनिङ गर्ने देखाउँछ । अग्रिम बुकिङमा नै फिल्मको अधिकांश सोजका सिट लगभग रिजर्भ भइसकेका छन् । क्यूएफएक्सले शनिबारलाई बाँडेको २१ सोज पनि प्रायः हाउसफुल हुने तरखरमा छन् । नेपालमा मल्टिस्टारर यस फिल्मको गजबको क्रेज देखिएको छ । 
 
वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, सोनाक्षी सिन्हा, माधुरी दीक्षित र आदित्य रोय कपूरको यस फिल्ममा प्रमुख भूमिका छ । माधुरी र सञ्जयले २० वर्षपछि सँगै यो फिल्ममा काम गरेका हुन् । यो एक पिरियड ड्रामा फिल्म हो, जुन १९४० को ब्याकड्रपमा बनाइएको छ । निर्माता करण जोहरको ड्रिम प्रोजेक्ट बताइएको यस फिल्मले पहिलो दिन भारतमा २१ करोड छापेको थियो । यसका निर्देशक अभिषेक वर्मन हुन् । फिल्मलाई समीक्षकले 'झुर' भनेका छन् । दर्शकले भने राम्रो/नराम्रो दुबै बोलेका छन् । 
 
‘कलंक’ रिलिज भएपछि अघिल्लो हप्ताका दुई नेपाली फिल्म मल्टीप्लेक्समा न्यून सोजमा खुम्चिने अनुमान धेरैको थियो । ‘ए मेरो हजुर ३’ को हकमा भने त्यसो भएको छैन । यसलाई दोस्रो हप्ता पनि उच्च सोज मिलेको छ । प्रदर्शनको पहिलो दिन क्यूएफएक्सले यसलाई राजधानीका पाँच स्टेशनमा ११ सोज बाँडेको थियो । दोस्रो हप्ताको शुक्रवार फिल्मले प्रदर्शनको पहिलो दिनको तुलनामा ३ सोज बढि पाएको छ । अर्थात् १४ सोज फिल्मलाई दिइएको छ । यसले पनि फिल्म पहिलो हप्ता बक्सअफिसमा प्रभावशाली रहेको प्रस्ट्याउँछ । 
 
अभिनेता सलिनमान बनिया र डेब्यू गर्ल मलिका महत स्टारर फिल्म ‘यात्रा’ को सोजमा भने ठूलो गिरावट आएको छ । फिल्मलाई दोस्रो हप्ता क्युएफएक्सले आफ्ना राजधानीका ३ स्टेशनमा जम्ममा चार सोज उपलब्ध गराएको छ । ‘कलंक’ प्रायः मल्टीप्लेक्समा रिलिज भएका कारण दोस्रो हप्ता पनि सिंगल स्क्रिनमा भने ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ कै बोलबाला रहने निश्चित छ । सिंगल थिएटरमा ढुक्क भए पनि मल्टीप्लेक्समा भने ‘कलंक’ दुई फिल्मका लागि ठूलो थ्रेट बन्न सक्छ । 
Most Visited News (monthly)