Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा र पलको फिल्म भिड्ने सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2019/04/18
एकै मितिमा एकभन्दा बढी फिल्म प्रदर्शनमा आउनु अब नौलो रहेन । तर, बेला-बखतमा गिनेचुनेका ब्यानर र चलेका कलाकार अभिनीत फिल्म एकसाथ प्रदर्शनमा आउँदा सिनेवृतमा ठूलै हलचल मच्चिन्छ । गत वर्ष 'रोज' र 'रामकहानी', 'क्याप्टेन' र 'द ब्रेकअप', 'ए मेरो हजुर ३' र 'यात्रा' को भिडन्तले ठूलै चर्चा पाए । यस वर्ष पनि ठूला फिल्म जुध्ने अवस्थाको अन्त्य हुने देखिएको छैन । आउँदो जेठ ३ मा 'वीरविक्रम २' र 'जात्रै जात्रा' बीच हेविभेट भिडन्त हुँदैन । 
 
यस्तै, भदौ १३ मा 'मारुनी' र 'कबड्डी ३' एकसाथ प्रदर्शनमा आउने चर्चा छ । सिल्भर स्क्रिनमा निकै रुचाइएको एक जोडीको फिल्म पनि बक्सअफिसमा भिड्ने सम्भावना बलियो हुँदै गएको छ । भदौ २७ मा अभिनेता पल शाह अभिनीत फिल्म 'हृदय भरी' आउने तय भइसकेको छ । यो मितिमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म 'सम्हालिन्छ कहिले मन' पनि रिलिज हुने तयारी भइरहेको निकट स्रोतले फिल्मीखबरलाई बताएको छ । 
 
 
पल र पूजाको यसअघि हिट फिल्म 'म यस्तो गीत गाउँछु' मा सहकार्य भएको थियो । यो फिल्मको सिक्वेल समेत घोषणा गरिएको थियो, जसमा उनीहरु दुबैको अभिनय रहने निर्देशक सुदर्शन थापाले बताएका थिए । तर, अब यो फिल्म बन्ने सम्भावना टर्दै गएको छ । किनकि, अहिले पल र सुदर्शनको सम्बन्ध ३६ को आँकडामा छ । दुईको सम्बन्ध विग्रिएकै कारण 'म यस्तो गीत गाउँछु' को सिक्वेल बन्न नसकेको फिल्मवृतमा चर्चा छ । 
 
अब पलमाथि रिस साध्न निर्देशक सुदर्शन आफ्नो नयाँ फिल्म 'सम्हालिन्छ कहिले मन' भदौ २७ मा 'हृदय भरी' सँग जुधाउने मनस्थितिमा रहेको बताइएको छ । यद्यपि, अहिलेसम्म फिल्म रिलिज हुने मिति तय भइसकेको छैन । अहिले 'हृदय भरी' को छायांकन धमाधम भइरहेको छ भने 'सम्हालिन्छ कहिले मन' को लगभग ९० प्रतिशत छायांकन पूरा भइसकेको छ । 'हृदय भरी' का निर्देशक सुरज सुब्बा (नाल्बो) हुन् । 
 
पल र पूजाको बक्सअफिसमा भिडन्त भएको खण्डमा भविष्यमा दुईबीच अन्य प्रोजेक्टमा सहकार्य हुने सम्भावना पनि टर्नेछ । यी अभिनेता-अभिनेत्रीको जोडीलाई पर्दामा दर्शकले निकै रुचाएका थिए । फेरि उनीहरुलाई फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ । 'हृदय भरी' र 'सम्हालिन्छ कहिले मन' नजुधेको खण्डमा दुईबीच पुनः टिमअप हुने झिनो सम्भावना भने रहन सक्नेछ । अब दुई फिल्म जुध्ने वा नजुध्ने ?  सुदर्शनको निर्णयमा निर्भर रहनेछ । 
Most Visited News (monthly)