Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कबड्डी ३’ बाट प्रदीपलाई बाई-बाई ?

फिल्मीखबर, काठमाण्डौ, 2019/04/18
गत वर्ष अभिनेता प्रदीप खड्काका लागि सुखद रहन सकेन । वर्षको मध्यतिर फिल्म 'रोज' रिलिज भएको थियो । चरित्रमा डुब्न उनले क्रिमिनल लुक्स बनाए । तर, न उनको अभिनयको वाहवाही भयो न त फिल्मले दर्शक रिझायो । बक्सअफिसमा फिल्म सुपरफ्लप भयो । यसपछि उनी करीब ६ महिना पर्दामा देखिएनन् । वर्ष २०७५ को अन्तिम महिनाको अन्तिम एक हप्ता अगाडि उनको नयाँ फिल्म रिलिज भयो 'लभ स्टेशन' । 
 
ट्रेलरका केही सिन टर्किस फिल्मसँग दुरुस्तै मिलेपछि प्रदीपको चर्को आलोचना भयो । उनले प्रभावित हुनु नराम्रो नभएको भन्दै फिल्म भने कहीँ नमिल्ने दाबी गरे । तर,  रिलिजको दिन नै फिल्म अर्को टर्किस फिल्मको हुबहु कपी भेटियो । हलमा महँगो टिकट काटेर नेपाली अनुवाद हेर्नुभन्दा दर्शकले घरमै बसेर ओर्जिनल फिल्म हेर्न निको ठाने । प्रदर्शनको दुई/तीनपछि 'लभ स्टेशन' लाई दर्शकको चर्को खडेरी लाग्यो । 
 
निर्माता गोविन्द शाहीले प्रदर्शनको एक हप्तामा फिल्मले ३ करोडमाथि कमाएको र आफ्नो लगानी सुरक्षित भएको भन्दै पत्रकार सम्मेलन गरे । तर, उनको बोलीमा कसैले विश्वास नै गरेनन् । फिल्मले एक हप्तामा करोड पनि नकमाएको फिल्म पण्डितहरुको भनाई छ । केही हलमा अझै प्रदर्शनरत फिल्म बक्सअफिसमा हिट वा फ्लप भयो ? अहिले नै भनिहाल्ने अवस्था छैन । यद्यपि, प्रदीपको स्टारडममा भने यसले नराम्रो चोट पुर्‍याएको छ । 
 
 
'लभ स्टेशन' को नतिजा पनि राम्रो नआएपछि उनलाई लिएर फिल्म बनाउने सोचमा रहेका धेरै फिल्ममेकर तिलमिलाएका छन् । अब उनलाई लिएर जोखिम मोल्ने वा नमोल्ने दोधार स्थिति सृजना भएको छ । यो फिल्मपछि प्रदीपले माटो सुहाउँदा फिल्म बनाउन सिपालु मानिने निर्देशक रामबाबु गुरुङको हिट सिरिज 'कबड्डी' को तेस्रो पार्ट गर्ने बताइएको थियो । बैशाख अन्तिमबाट यो फिल्मको छायांकन सुरु हुँदैछ । 
 
गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, अब प्रदीप यो फिल्ममा नहुने लगभग पक्का भएको छ । यसको कारण फिल्म 'लभ स्टेशन' को नतिजालाई मानिएको छ । निर्देशक गुरुङ यस फिल्मको नतिजा हेरेर मात्र प्रदीपलाई 'कबड्डी ३' मा लिने सोचमा थिए । यद्यपि, दुईबीच मौखिक सहमती भने भइसकेको थियो । तर, उक्त फिल्म बक्सअफिसमा कमजोर ठहरिएपछि उनले आफ्नो फिल्मबाट प्रदीपलाई बाई-बाई गरेको स्रोत बताउँछ । 
 
अब उनको ठाउँमा निर्देशक गुरुङ 'कबड्डी' को पहिलो पार्टमा अभिनय गरेका अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई लिने तयारीमा रहेको बुझिएको छ । तर, यस विषयमा अहिलेसम्म निर्माण टिमबाट कुनै जानकारी भने प्राप्त भएको छैन । फिल्ममा दयाहाङ राई यथावत रहेका छन् भने 'क्याप्टेन' गर्ल उपासना सिंह ठकुरी यसपटक 'मैयाँ' बन्दैछिन् । 'कबड्डी ३'  नभएपनि प्रदीपलाई लिएर रामबाबुले फिल्म 'बेला' भने बनाउँदैछन् । 
Most Visited News (monthly)