बलिउडका नामी निर्देशक तथा निर्माता करण जोहरले निर्माण गरेको फिल्म ‘कलंक’ बुधबारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । नेपालबाहेक । नेपालमा शुक्रवारबाहेक अरु दिनमा विदेशी फिल्म प्रदर्शनमा चलचित्र विकास बोर्डले अंकुश लगाएपछि ‘कलंक’ बुधबार नेपाल रिलिज नभएको हो । शुक्रवार प्रदर्शनमा आउने सम्भावना छ । तर, फिल्मलाई प्राप्त रिभ्यूले भने नेपालका वितरकलाई नराम्रोसँग तर्साएको छ ।

भारतका समीक्षकले फिल्मलाई ‘झुर’ भनेका छन् । भारतका प्रख्यात ट्रेड एनालिस्ट तरण आदर्शले २ रेटिङ दिँदै यसलाई निराशाजनक फिल्म भनेका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा फिल्मको पहिलो हाफ कमजोर र दोस्रो हाफ केही हेर्न लायक रहेको लेखेका छन् । फिल्मले दर्शकको अपेक्षा पूरा नगर्ने उनको भनाई छ । अन्य फिल्म समीक्षकले पनि ‘कलंक’ लाई कमजोर फिल्मको पगरी गुथाएका छन् ।
फिल्म अपेक्षाकृत नबनेको प्रतिक्रिया आएपछि नेपालका वितरक करोडौं खन्याएर उक्त फिल्म नेपाल ल्याउने वा नल्याउनेमा दोधार देखिएका छन् । फिल्मबारे आएको नकारात्मक समीक्षाले ठूलो अपेक्षा बोकेका नेपाली दर्शकको ‘कलंक’ प्रति चासो मरेको छ । अब जोखिम मोलेर नेपालका वितरकले यो फिल्म नेपाल रिलिज गर्लान् वा नगर्लान् ? प्रतिक्षा गर्नैपर्ने हुन्छ । शुक्रवार पनि यो फिल्म नलागे नेपालमा रिलिज नहुने लगभग निश्चित हुनेछ ।
वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, सोनाक्षी सिन्हा, माधुरी दीक्षित र आदित्य रोय कपूरको यस फिल्ममा प्रमुख भूमिका छ । माधुरी र सञ्जयले २० वर्षपछि सँगै यो फिल्ममा काम गरेका हुन् । यो एक पिरियड ड्रामा फिल्म हो, जुन १९४० को ब्याकड्रपमा बनाइएको छ । यो फिल्म करणको ड्रिम प्रोजेक्ट बताइएको छ । फिल्मले पहिलो दिन भारतमा २३ करोड छाप्ने अनुमान छ । यसका निर्देशक अभिषेक वर्मन हुन् ।

