‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका स्टाइलिस अभिनेता सलिनमान बनिया अभिनीत दोस्रो फिल्म ‘यात्रा’ ले अहिले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । प्रदर्शनको तीन दिनमा १ करोड ७५ लाख ग्रस कलेक्सन गरेको फिल्मलाई दर्शकले राम्रो भनेका छन् । सलिनकोे अभिनय र एक्सनलाई सबैले तारिफ गरेका छन् भने डेब्यू गर्ल मलिका महतलाई राम्रो सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएको छ ।
.jpg)
यो फिल्मलाई अभिनेता अनमोल केसी अभिनीत फिल्म 'ए मेरो हजुर ३' सँग जुधेका कारण व्यापारमा ठूलो असर पुगेको छ । यस फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अनमोललाई 'नम्बर वान नायक' भन्दै अभिनेता सलिनले बरु आफू हार्ने तर नभाग्ने बताएका थिए । मंगलवार दिउँसो चिनियाँ कलाकारको साथमा फेरि एकपटक फिल्म हेरेपछि सलिनले हार र जित आफूलाई नभई निर्मातालाई थाहा हुने बताए ।
नम्बर वानसँगको प्रतिस्पर्धा कति सहज भयो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- 'प्रतिस्पर्धा कस्तो रह्यो मलाई थाहा भएन । लगानी कति उठ्यो त्यो निर्माताहरुको कुरा हो । म चाहिँ सन्तुष्ट छु । दर्शकले फिल्म रुचाइदिनुभएको छ । मेरो लागि दर्शकको सन्तुष्टि नै सफलता हो ।' रिलिजपूर्व ‘यात्रा’ फ्लप हुने र कथावस्तु राम्रो नभएको धेरैले अनुमान गरेको भएता पनि फिल्मलाई दर्शकले अत्याधिक रुचाएको उनको भनाई छ ।
उनले आफ्नो फिल्मसँग एकसाथ रिलिज भएको 'ए मेरो हजुर ३' अहिलेसम्म नहेरेको तर केही दिनमा हेर्ने बताएका छन् । सलिनले 'ए मेरो हजुर ३' टिमलाई 'यात्रा' हेर्नका लागि निमन्त्रण गर्ने पनि बताए । फिल्म हेर्न पुगेका निर्देशक, कलाकार तथा द्वन्द्व निर्देशक हिमाल केसीले सलिनको कामको प्रशंसा गरे । यस फिल्ममा उनको द्वन्द्व निर्देशन छ भने सलिनलाई २ महिना एक्सन तालिम समेत दिएका थिए ।
'एक्सन गर्न ज्यादै गाह्रो हुन्छ । सलिनले एक्सन सिक्न निकै मिहिनेत गरेको थियो, जुन अहिले दर्शकले पनि निकै रुचाउनुभएको छ', उनले भने- 'मैले एक्सनमा नयाँ स्वाद दिने जे सोचेको थिए त्यो पूरा भएको महशुस गरेको छु ।' उनले एक्सन गर्न इच्छाशक्ति हुनु पर्ने र सलिनमा त्यो रहेको उनको भनाई छ । उनले सलिनलाई एक्सन सिकाउन गाह्रो नभएको पनि बताउँछन् ।

'एक्सनमा नयाँ छिमलका कलाकारहरु जति मिहिनेत गर्नुहुन्छ, त्यसमा सलिन पनि पर्छ । उसले 'यात्रा' का लागि एक्सनमा एकदमै मिहिनेत गरेको छ, जुन पर्दामा देखिएको पनि छ', निर्देशक केसी अगाडि भन्छन्, 'सलिन एउटा प्याकेज हो । ऊ लभस्टोरी र एक्सन सबै कुरामा फिट छ ।' ‘यात्रा’ का निर्देशक सम्राट शाक्यले भने फिल्म रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिँदै सलिनसँग पुनः टिमअप हुनसक्ने पनि बताए ।

