Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ ले गर्‍यो ४ दिनमै ४ करोडको व्यापार

फिल्मीखबर, काठमाडौं, 2019/04/16
नयाँ वर्ष २०७६ को छेको पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएका अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले घरेलु बजारमा सानदार व्यापार गरिरहेको छ । शुक्रवार नै बम्पर ओपनिङ गरेको फिल्मले आक्रामक व्यापारको रफ्तारलाई निरन्तरता दिइरहेको छ । मंगलवार पनि फिल्मले देशभरका सिंगल स्क्रिन र मल्टीप्लेक्सहरुमा दर्शकको राम्रो साथ पाएको वितरक मनोज राठीले बताएका छन् । 
 
 
प्रविधिक कारणले फिल्मको विकेन्ड कलेक्सन सार्वजनिक गर्न नसकेको निर्माण टिमले चार दिने कमाई मंगलवार सार्वजनिक गरेको छ । फिल्मले प्रदर्शनको चार दिनमा चार करोडमाथि कलेक्सन गरेको फिल्मीखबरलाई रिपोर्ट प्राप्त छ । शुक्रवार ७५ लाख कमाउँँदै गजबको ओपनिङ गरेको यसले शनिवार १ करोड १४ लाख कमायो । तेस्रो दिन आइतवार फिल्मले १ करोड ५० लाख छापेको छ । प्राप्त रिपोर्टलाई आधार मान्ने हो भने फिल्मको विकेन्ड कलेक्सन ३ करोड ३९ लाख हुन आउँछ । 
 
चौथो दिन सोमवार पनि फिल्मले बक्सअफिसमा राम्रो पैसा छापेको छ । चौथो दिन देशभर यसले ६२ लाखको व्यापार गरेको वितरक राठीले जानकारी दिए । विकेन्ड कलेक्सनमा चौथो दिनको कमाई पनि जोड्ने हो भने फिल्मले चार दिनमा ४ करोड १ लाख नेरु कमाएको छ । यो व्यापार गत वर्ष प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' पछिकै उच्च हो । दर्शक प्रतिक्रिया राम्रो भएका कारण फिल्म लामो समयसम्म हलमा टिक्ने वितरक राठीको विश्वास छ । 
 
मल्टीप्लेक्सहरुले अग्रिम बुकिङमा यो फिल्मलाई न्यून सोज प्रदान गरेका थिए । शुक्रवार नै बम्पर ओपनिङ गरेपछि शनिवारबाट मल्टीप्लेक्सहरुले उच्च सोज बाँढे । शुक्रवार क्यूएफएक्स चेन अन्तर्गतको राजधानीको ५ वटा हलमा यसले ११ सोज पाएको थियो । आइतबार १७ सोज पायो । अन्य मल्टीप्लेक्सहरुले पनि फिल्मको आक्रामक कमाईका कारण सोजमा वृद्धि गरेका छन् । सिंगल स्क्रिन पनि फिल्मले बिस्तारै बढाउँदै लगेको छ । यो फिल्मलाई झरना थापाले निर्देशन गरेका हुन् । 
 
 
करीब ६ महिनादेखि हलमा नेपाली फिल्म राम्रोसँग चलेका थिएनन् । गत वर्ष बजारले स्टार भनेका कलाकारका फिल्म समेत बक्सअफिसमा ठन्डाराम भएका थिए । हरेक हप्ता फेरिने फिल्म एकपछि अर्को असफल हुन थालेपछि नेपाली फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो । फिल्मकर्मीबीच नेपाली फिल्मका दर्शक हराएको चर्चा हुन थालेको थियो । ‘ए मेरो हजुर ३’ ले भने नेपाली फिल्मका दर्शक फेरि हल फर्काएको छ । 
 
यो फिल्मले देशैभर दर्शकको राम्रो साथ पाएपछि अहिले धेरै फिल्ममेकर्सको अनुहारमा खुसी छाएको छ । एकपछि अर्को फिल्म असफल हुन थालेपछि घोषणा भएका फिल्महरु पनि फ्लोरमा जान सकेका थिएनन् । अहिले फेरि फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । भकाभक फिल्महरु फ्लोरमा निस्किन थालेका छन् । रिलिज कुरेर बसेका फिल्मका निर्मातालाई ठूलो आत्मबल मिलेकोे छ । फिल्म क्षेत्रका लागि ‘ए मेरो हजुर ३’ सञ्जीवनी बुटी भएको कतिपयको भनाई छ । 
Most Visited News (monthly)