Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५० लाखमा पनि कलाकार पाउन छाडे : अध्यक्ष उदय

फिल्मीखबर, काठमाडौं, 2019/04/16
केही वर्षयता नेपाली फिल्म क्षेत्र समस्यै समस्याले जगडिएको छ । साउनदेखि राजधानीमा बक्सअफिस लागू भयो तर, कार्यन्वयन हुन सकेको छैन । मोफसलमा कहिले लागू हुने अझै अन्योल छ । हरेक वर्ष सयको आसपासमा फिल्म रिलिज हुन्छन् तर, अधिकांश डुबेका छन् । फिल्म नचले पनि कलाकारको पारिश्रमिक कम भएको छैन । न त फिल्म क्षेत्रको विकासको बाटो खोल्ने चलचित्र नीति नै पारित हुन सकेको छ ।
 
अहिले सबैभन्दा ठूलो समस्या फिल्म बनाउन र सहज रुपमा प्रदर्शन गर्नका लागि रहेको कतिपयको भनाई छ । अचेल बजारमा राम्रो माग भएका कलाकार लिएर फिल्म बनाए बजेट २ करोडसम्म पुग्छ । ७०/८० लाख त कलाकारको पारिश्रमिकमै सकिन्छ । फिल्म नचले पनि कलाकारको पारिश्रमिक कम भएको छैन । झन् बढेको बढ्यै छ । फिल्म बनेपछि प्रदर्शनका लागि अर्को ठूलो राजनीति हुन्छ । यो समस्या वर्षौदेखि जस्ताको त्यस्तै छ । 
 
नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय इमान्दार नहुनु नै समस्याको प्रमुख जड रहेको बताउँछन् । फिल्म क्षेत्र समस्यामा जेलिनुको कारणबारे उनी भन्छन्, 'सबैभन्दा पहिला हामी इमान्दार हुनुपर्छ । न हामी इमान्दार छौं, न हामी स्पष्ट छौं, न पारदर्शी छौं, न हामीमा अनुशासन छ, न हामीमा मानवता छ । सबैभन्दा ठूलो समस्या हाम्रो मानसिकतामा छ ।' प्रदर्शकदेखि पत्रकारसम्म सबैको मानसिकतामा समस्या रहेको उनको भनाई छ । 
 
चलचित्र पत्रकार संघ, नेपालले सोमवार राजधानीमा आयोजना गरेको ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’ विषय अन्तरक्रिया कार्यक्रममा उनले चलेको फिल्मलाई चलेको भन्न कोही बढाएर भन्ने र कोही चल्यो भन्न हिचकिचाउने गरेको बताए । निर्माताहरु झन् आफ्नो फिल्म चलेन भनेर स्वीकार नै नगर्ने बताउँदै सबैभन्दा ठूलो समस्या मिडियामा आउने वार्षिक समीक्षामा पनि रहेको उनी बताउँछन् । सबै इमान्दार भए मात्र समस्याको अन्त्य उनको जिकिर छ । 
 
 
चलचित्र संघले ७५० मा झारेर फिल्म प्रदर्शन गर्ने गरेको हुँदा फिल्म चल्न छाडेको कतिपयको विश्लेषण छ । उनले यसबारे पनि आफ्नो भनाई राखे । '७५० मा देखाउँदा 'छक्का पञ्जा' ले १८ करोड कमायो । मेरै फिल्म चलेन 'शुभ लभ' । मैले पनि त्यही ७५० मै देखाएको हुँ', उनले धक नमानि बोले । उदयले कलाकारले बढाउने पारिश्रमिकलाई लिएर पनि कडा टिप्पणी गरेका छन् । अहिले ५० लाखमा पनि कलाकार पाउन छाडेको उनले बताए । 
 
'फिल्म चलेको छैन तर, कलाकारको पारिश्रमिक बढेको बढ्यै छ । अहिले त ५० लाखमा पनि कलाकार पाइन्न', उनले अगाडि भने- 'जुन कलाकारको एउटै फिल्मले आजसम्म लगानी उठाएको छैन त्यही कलाकारले २०/५० लाख भन्न थाल्छन् ।' उनले कलाकारमा मानवता हराएको अरोप पनि लगाए । उनी अगाडि थप्छन्, 'फिल्म चलेको छैन, फिल्म डुबिरहेको छ तर, कलाकारहरु पारिश्रमिक घटाउनु हुन्न । यहाँ पनि समस्या छ ।'
 
उनी आफू दीपकराज गिरी र उनको टिमलाई सलुट गर्ने बताउँछन् । '६ एकान ६' देखि कुनै फिल्मबाट दीपकराजको टिमले असफता भोग्नु नपरेको बताउँदै अध्यक्ष उदयले भने- 'उहाँहरुको टिमले एक/डेढ करोड पारिश्रमिक लिएर फिल्म खेल्छौं भन्यो भने म नै तयार छु । तर पनि उहाँहरु मुनाफामा काम गर्छौं, पारिश्रमिकमा काम गर्दैनौं भन्नुहुन्छ ।' छेवैमा रहेकी दीपाश्रीतर्फ हेर्दै उनले भने- 'उहाँहरु काम गर्न तयार हुनुहुन्छ भने म मुनाफाको ७० प्रतिशत दिन तयार छु ।' 
 
वितरकले वितरण नगरि निर्माताले सिधै हलमा फिल्म प्रदर्शन गर्न नपाउने नेपालको कानुन पनि उनले स्मरण गराए । उनले फिल्म फिक्समा चलाउन पाइने पनि जानकारी दिए । उनले भने- 'वितरकले फिक्समा दियो भने हलवालाले चलाउन पाउँछ । फिक्समा चलाउन नपाउने नियम छैन ।' हल सञ्चालक समेत रहेका अध्यक्ष उदयले हल सञ्चालक सबै चोर नहुने पनि बताए । कसैले बदमासी गरेको भए त्यसलाई उदाङ्गो पार्न पनि उनले पत्रकारलाई आग्रह गरे ।
Most Visited News (monthly)