Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वितरकका कारण ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ जुधे : केशव भट्टराई

फिल्मीखबर, काठमाण्डौ, 2019/04/16
तीन दशकदेखि निर्माता र कलाकारको रुपमा अनवरत सक्रिय केशव भट्टराई अहिले नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आसिन छन् । उनको कार्यकालमा फिल्म क्षेत्रले ठूलो फड्को मार्ने फिल्मकर्मीहरुको आशा र भरोसा छ । उनको सामुन्ने अड्किएर बसेको चलचित्र नीति पारित गर्नुपर्ने र देशभर बक्सअफिस लागू गर्नुपर्ने दुई ठूला चुनौती छन् । उनले आफ्नो कार्यकालमा दुबै काम पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् । 
 
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको केही हप्तामा उनी निर्मित नयाँ फिल्म 'यात्रा' प्रदर्शनमा आयो । शुक्रवारबाट उनी प्रस्तुतकर्ता रहेको यो फिल्म हलमा प्रदर्शनरत छ । अर्को फिल्म 'ए मेरो हजुर ३' सँग यो फिल्म जुधेपछि केही दिनयता बोर्ड अध्यक्ष स्वयंले फिल्म जुधाउने बेथितिलाई रोक्न नसकेको फिल्मवृतमा टिका-टिप्पणी भइरहेका छन् । उनले फिल्म आफूले नभएर दुबै फिल्मका वितरकका कारण जुधेको बताए । उनले आफ्नो फिल्मको व्यापार पारदर्शी रुपमा देखाउने पनि वाचा गरे । 
 
 
चलचित्र पत्रकार संघ, नेपालले सोमवार राजधानीमा आयोजना गरेको ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्ना विगतका फिल्म हिटलाई हिट र फ्लपलाई फ्लप भनेको पनि बताए । ‘यात्रा’ को पारदर्शी व्यापार देखाउनु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- 'फिल्ममा लगानी मेरो हुन्छ । पैसा मेरो डुब्छ । अनि मेरो पैसा डुब्यो भन्न किन डराउने ? कमाउँदै नकमाएको फिल्मले २ करोड कमायो भनेर म भन्दिनँ । ढुक्क हुनुहोस् ‘यात्रा’ को व्यापार पारदर्शी रुपमा आउँछ ।' 
 
उनले आउँदो साउनभित्रमा देशभर बक्सअफिस परिक्षण गर्ने पनि बताएका छन् । देशभर बक्सअफिस कार्यन्वयन भएपछि चलचित्र विकास बोर्डले मिडियालाई फिल्मको वास्तविक व्यापार देखाउने पनि उनले आश्वासन दिलाए । उनी भन्छन्, 'सबै मिडियाको हात-हातमा फिल्मको व्यापार त दिन सकिन्न । यद्यपि, लिखित रुपमा कुनै फिल्मको व्यापार बुझ्न चाहेको खण्डमा बोर्डसहित चार ठाउँबाट पाउन सकिनेछ ।' वर्षौदेखि वितरक र निर्माताको दिएको फिल्मको व्यापारलाई मिडियाले सत्य मान्नुपर्ने अवस्था छ । 
 
शनिबार आफ्नो फिल्म ‘यात्रा’ का लागि ठूलो हल उपलब्ध गराउनका लागि सरकारी गाडी दुरुपयोग गरेर हल-हल पुगेको भन्दै अहिले उनको चर्को आलोचना भइरहेको छ । आफ्नो फिल्मलाई हल उपलब्ध गराउनका लागि नभई बक्सअफिस अनुगमनका लागि सञ्चार मन्त्रालयबाट अनुमती लिएरै सरकारी गाडी प्रयोग गरेको उनको भनाई छ । फिल्म निर्माता, वितरक, प्रदर्शक र पत्रकारहरु इमान्दरपूर्वक लाग्ने हो भने फिल्म क्षेत्रको रुप कायापलट हुने पनि उनले विश्वास व्यक्त गरे । 
Most Visited News (monthly)