अभिनेता विवेक ओबेरोय अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा उनको रोल प्ले गरेका कारण चर्चा छन् । तर, एक समय विवेकको करिअरमा यस्तो पनि अवस्था आएको थियो, उनको हातमा कुनै फिल्म नै थिएन । सन् २००३ मा एक प्रेस कन्फ्रेन्स गरेर उनले अभिनेता सलमान खानमाथि कयौं आरोप लगाएका थिए, जसको परिणाम उनले नराम्रोसँग भोग्नुपर्यो ।
वर्षौदेखि दुईबीचको दरार जस्ताको त्यस्तै छ । सलमान त उनको नाम समेत सुन्न चाहँदैनन् । विवेकले भने कयौं पटक सलमानसँग माफी मागिसकेका छन् । तर, उनले आजसम्म कुनै जवाफ दिएका छैनन् । विवेकले सलमानमाथि आरोप लगाएको करीब १६ वर्ष वितिसकेको छ । उनमा अझै सलमानले आफूलाई माफ गर्ने विश्वास छ ।

हालै एक अन्तर्वार्तामा विवेकलाई प्रश्न सोधिएको थियो, 'यदी सलमानसँग केही सोध्नु पर्यो भने के सोध्नुहुनेछ ?' उनले जवाफमा भने- 'मलाई माफी गर्यौ भनेर सोध्नेछु ।' सन् १९९९ मा फिल्म 'हम दिल दे चुके सनम' को छायांकनको क्रममा सलमान र ऐश्वर्या राय एकअर्कासँग निकै नजिक भएका थिए । बिस्तारै दुईको सम्बन्ध बिँग्रदै गयो ।
सलमानबाट टाढा हुने निर्णय लिएपछि विवेकसँग ऐश्वर्या नजिक भइन् । दुबैले एकसाथ फिल्म पनि गरे । तर, विवेकले सन् २००३ मा अचानक प्रेस कन्फ्रेन्स बोलाएर सलमानले आफूलाई मद्यिरा सेवन गरेर ४१ मिस कल गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लगाए । यसपछि सलमान र विवेकको सम्बन्ध 'पानी बाराबार' भयो ।
सलमानलाई आरोप लगाउनु आफ्नो लागि महँगो परेको विवेकले धेरै पटक धक नमानि बताएका छन् । उनलाई एक समय बलिउडमा काम नै मिल्न छाडेको थियो । विवेकले कयौं पटक माफी पनि मागे । तर, सलमानले आजसम्म उनलाई माफ गरेका छैनन् । केही समय अगाडि एक अन्तर्वार्तामा सलमानले विवेक माफीको योग्य समेत नभएको बताएका थिए ।

