सिल्भर स्क्रिनमा निकै रुचाइएको अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी तेस्रो पटक पनि एकसाथ पर्दामा देखिने निश्चित भएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'रामकहानी' मा पहिलो पटक रोमान्स गरेका यी दुईको दोस्रो फिल्म 'सम्हालिन्छ कहिले मन' मा पनि जोडी बाँधिएको छ । हालै यो फिल्मको यूके सेड्युल पूरा गरेर निर्माण टिम राजधानी फिरेको छ ।
करीब २ महिना लामो यूके बसाईपछि राजधानी फर्किएको केही दिनमा नै पूजा र आकाशले तेस्रो पटक पनि साथमा काम गर्ने निर्णय लिएका छन् । 'तिमीसँग' फेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्ने नयाँ फिल्म ‘पोई पर्यो काले’ मा दुई अनुबन्ध भएका छन् । नयाँ वर्ष २०७६ को दिन आइतबार निर्माण टिम र अभिनेता-अभिनेत्रीबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो ।
(1)(1).jpg)
दुबैले कथावस्तु मनपरेका कारण फिल्म गर्न राजी भएको बताएका छन् । फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको फिल्मका निर्माता दिपक मनाङ्गे हुन् । फिल्ममा पुरुषोत्तम न्यौपाने र शीव गौतमको संगीत रहनेछ । निर्देशक राणाले रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई फिल्मले प्रस्तुत गर्ने बताए ।
'मधुमास' देखि हाल 'सम्हालिन्छ कहिले मन' सम्म अभिनेत्री पूजाले निर्देशक सुदर्शनको साथ छाडेकी छैनन् । लगातार एकपछि अर्को फिल्म साथमा गर्दा उनीहरु प्रेममा रहेको चर्चा पनि निकै चलेको छ । गुमनाम पूजालाई स्टार बनाउनमा सुदर्शनको ठूलो हात छ । उनको साथ विना पूजाको करिअर धर्मराउने चर्चा भइरहँदा उनले धेरैपछि अन्य निर्देशकसँग सहकार्य गरेकी छन् ।
सुदर्शनको साथ छाड्दा पूजाका लागि कति घाटा/नाफा होला ? त्यसको लेखाजोखा भोलीका दिनमा हुनेछ । तर, वर्षौपछि अन्य निर्देशनसँग काम गर्न राजी हुनुले उनले आफू सुदर्शनको कारणले मात्र चलेको भन्ने टिका-टिप्पणीलाई गलत साबित गर्न चाहेको देखिन्छ । तेस्रो पटक अभिनेता आकाशसँग टिमअप गर्दैगर्दा उनको प्रेममा पूजा हराउँदै गएको चर्चा पनि चल्न थालेको छ ।

