शुक्रवारबाट देशभर प्रदर्शनमा आएको अभिनेता सलिनमान बनिया र डेब्यू गर्ल मलिका महत स्टारर फिल्म ‘यात्रा’ ले नयाँ वर्ष २०७६ को दिन (आइतबार) देशभर आक्रामक व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन नै देशभर ६० प्रतिशतमाथि अकुपेन्सी कायम गरेको फिल्मले शनिबार देशभरका सिंगल स्क्रिन र मल्टीप्लेक्स दुबैतिर हाउसफुल व्यापार गरेको थियो । आइतबार फिल्मले शुक्रबार र शनिबारको तुलनामा दोब्बर राम्रो व्यापार गरेको वितरकको दाबी छ ।
(1).jpg)
(1).jpg)
लामो समयदेखि फिल्म नचलिरहेको अवस्थामा ‘यात्रा’ ले नसोचेको व्यापार गरेको वितरक गोपालकाजी कायस्थले बताएका छन् । आइतबार फिल्मका कलाकारहरुको साथमा राजधानीका केही हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका वितरक कायस्थले भने- '६ महिनादेखि नेपाली फिल्म राम्रोसँग चलेका थिएनन् । 'ए मेरो हजुर ३' र 'यात्रा' पनि नचलेको भए फिल्म उद्योग धरासायी हुने निश्चित थियो । दुबै फिल्मको व्यापार १८/१९ छ । शुक्रवारदेखि देशभरका हलमा 'यात्रा' हाउसफुल छ ।'
उनले फिल्मको यकिन कलेक्सन रिपोर्ट प्राप्त नभएको भए पनि तीन दिनमा २ करोडको आसपास व्यापार गरेको हुनसक्ने वितरक कायस्थको अनुमान छ । दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने उनको विश्वास छ । आइतबार दिउँसो दर्शकसँग दोस्रो पटक गोपीकृष्ण हलमा प्रत्यक्ष साक्षात्कार गरेका अभिनेता सलिन निकै प्रफुलित देखिन्थे । उनले आफूहरुको मिहिनेतले रंग ल्याएकोमा खुसी व्यक्त गरे ।
(1).jpg)
.jpg)
'दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित भएको छु', उनले भने- 'यो नयाँ वर्षमा दर्शकसँग म छु र मसँग दर्शकहरु हुनुहुन्छ ।' उनी आफूले नसोचेको दर्शकको साथ र माया पाएको बताउँछन् । उनलाई आफ्नो अगाडि देख्न पाउँदा गोपीकृष्ण हलमा घन्टौंदेखि टिकट लिन लाइनमा बसेका हजारौं दर्शकहरु पनि दंग देखिएका थिए । उनी गाडिबाट ओर्लिएपछि र हलको बालकुनीमा उभिएर हात हल्लाएपछि दर्शकहरुले ताली र हुटिङले न्यानो स्वागत गरेका थिए ।
गोपीकृष्णसँगै उनले अष्टनारायण पिक्चर्समा पनि पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । उनको एक झलक हेर्नका लागि अष्टनारायण हलको आँगनमा पनि दर्शकबीच तछाडमछाड नै चलेको थियो । संवाददाताहरुसँग केही गम्भीर भावमा उनले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्म गर्दाको सबै दुःख विर्सिएको सुनाए । सलिनसँगै सलोन बस्नेत, मलिका महत, रेअर राई, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत र निर्देशक सम्राट शाक्य दर्शकको प्रतिक्रिया लिन हल-हल पुगेका थिए ।
.jpg)
(1).jpg)
यो फिल्ममा भ्लगको माध्यमले युवापुस्तामा ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ । फिल्ममा सलिनले पाँच पाँच पन्क्षी समुह लिड गरेका छन् । फिल्ममा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवरलगायतका कलाकारहरुको अभिनय छ । कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता सुशील पोखरेल हुन् । यो फिल्मबाट मलिकाले राम्रो सम्भावना देखाएकी छन् ।

