अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ को पहिलो गीत नयाँ वर्ष २०७६ को अवसरमा सार्वजनिक भएको छ । 'चिरी च्याट्टै' बोलको गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई गायनमा गायिका मेलिना राईले साथ दिएकी छन् । लोक फ्लेवरमा ढालेर तयार पारिएको गीतमा दया र दीया फिचर्ड छन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रवि न्यौपानेले खिचेका हुन् ।

'सुर्के थैली खै ?', 'चेप्टे चेप्टे पेरुङ्गो', 'गोजीमा दाम छैन' जस्ता लोकप्रिय गीतका सर्जक राजनराजको खातामा अर्को हिट नम्बर थपिने निश्चित छ । 'चिरी च्याट्टै' गीतका शब्दहरु सजिलै मुखमा झण्डिने खालका छन् । भिडियोमा पनि निर्माण टिमले रामै मिहिनेत गरेको देखिन्छ । दया र दीयाको केमेस्ट्री उस्तै कमालको देखिएको छ । यो फिल्मलाई कलाकार तथा निर्माता माओत्से गुरुङले पहिलो पटक निर्देशन गरेका हुन् ।
जेठ १० गतेबाट देशभर प्रदर्शनमा आउने यो फिल्मले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।
लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ भने रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । अभिनेता दयाहाङको नामसँग मिल्दोजुल्दो भएका कारण फिल्मको नाम 'दयारानी' नराखिएको निर्देशक गुरुङको भनाई छ । उनी भन्छन्, 'गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भन्ने गरिन्छ । फिल्ममा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको छ ।'
गीत हेर्नुहोस् :-

