
नयाँ प्रदर्शन मितिसहित नयाँ वर्ष २०७६ को अवसरमा फिल्म ‘पसिना’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पटक-पटक प्रदर्शन मिति घोषणा भएर पनि प्रदर्शनमा आउन नसकेको यो फिल्म अब यही बैशाख २७ गतेबाट मुलुकभर लाग्दैछ । फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह लिड रोलमा छन् । आर.बि. खत्री ‘शरद’ ले फिल्म निर्देशन गरेका हुन् ।
सार्वजनिक तीन पोस्टरमध्ये एकमा गौरव र अनुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । भने, दोस्रो पोस्टरमा दुईसँगै अभिनेता सरोज खनाल प्रहरीको बर्दीमा देखिएका छन् । तेस्रो पोस्टरमा फिल्मको एक गीतमा ठुम्का लगाएकी अभिनेत्री छुल्ठिम गुरुङसहित बाँकी कलाकारहरुलाई पनि स्थान दिइएको छ । यसमा मजदुरहरुको कथाव्यथा समेटिएको छ ।
फिल्ममा सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारा बोकेको फिल्म समसामयिक कथामा बनेको छ ।
पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश फिल्मले दिने निर्देशक खत्रीले बताए । निर्देशक खत्रीको कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राईको संगीत, नविन निरौलाको सम्पादन र देव महर्जनको द्वन्द छ ।

