Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 5.00/5.00)
Text size:-
+
-

शनिबार ‘ए मेरो हजुर ३’ को आक्रमक व्यापार, हलमा देखियो अनमोल र सुहानाको क्रेज (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/04/13
यसपालीको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ पछि हलमा दर्शकको खासै उत्साहजनक उपस्थिति देखिएको थिएन । हरेक हप्ता हलमा हेरिने फिल्मलाई दर्शकको खडेरी लागिरहेको अवस्थामा शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले भने बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । यो फिल्मले शुक्रबार बम्पर ओपनिङ गरेको थियो । शनिबार पनि यसले निरन्तरता पाएको छ । 
 
 
 
वितरक मनोज राठीले फिल्मले पहिलो दिनको तुलनामा शनिबार तेब्बर राम्रो व्यापार गरेको बताएका छन् । शनिबार बिहानैदेखि सिंगल स्क्रिन र मल्टीप्लेक्सहरुमा दर्शक भरिभराउ देखिएका छन् । राजधानी र मोफसलका सबै हल हाउसफुल रहेको राठीले जनाएका छन् । प्रदर्शनको पहिलो दिन न्यून सोज पाएको फिल्मले दुई दिनको आक्रामक व्यापारका कारण आइतबारबाट राजधानीका मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ । फिल्मले शनिबार मात्र करोडमाथि विजनेश गर्ने अनुमान गरिएको छ । 
 
वितरक राठी फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुनुको श्रेय फ्रेन्जाइज भ्यालु, स्टारपावर, गीतसंगीत र ट्रेलरलाई दिन्छन् । शनिबार फिल्मको व्यापार आक्रामक हुने विश्वास भएको भएता पनि शुक्रबारको बम्पर ओपनिङले भने आफू चकित भएको उनी बताउँछन् । किनकि, केही महिनायता निकै आशा गरिएका फिल्मले समेत शुक्रबार हलसम्म दर्शक तान्न सकेका थिएनन् । अभिनेता अनमोलको अघिल्लो फिल्म 'क्याप्टेन' नै शुक्रबार दर्शकको भीड हल तान्न चुकेको थियो । 
 
‘ए मेरो हजुर ३’ को दुई दिने व्यापारले निर्माताको करीब आधाउधी लगानी सुरक्षित भइसकेको बताइएको छ । शुक्रबार र शनिबारकै अनुपातमा आइतबार र सोमबार पनि फिल्मले आक्रामक व्यापार गरे निर्माताको लगानी सुरक्षित हुने निर्माण टिमबाट जानकारी प्राप्त छ । आइतबार नयाँ वर्ष भएका कारण फिल्मको आक्रामक व्यापारले निरन्तरता पाउने विश्वास निर्माता सुनिल कुमार थापाको छ । निर्देशक झरना थापा दर्शकको उत्साहजनक उपस्थितिले खुसी छिन् । 
 
 
 
शनिबार बिहानैदेखि अनमोल र सुहानाको साथमा निर्देशक झरनाले राजधानीका केही हल पुगेर दर्शक प्रतिक्रिया बुझिन् । १० बजे अष्टनारायण र दिउँसो १ बजे गोपीकृष्ण हल पुग्दा दर्शकको थामिनसक्नुको भीड देखिएको थियो । ठूलो संख्यामा दर्शकहरु टिकट नपाएर चलिरहेको अर्को नेपाली फिल्म र विदेशी फिल्म हेर्न बाध्य भएका थिए भने कति घर फर्किएका थिए । चर्को घाममा घन्टौंदेखि टिकट लिन लाइन बसेका दर्शकहरुलाई अनमोल र सुहानाको उपस्थितिले छहारीको काम गरेको थियो । 
 
अष्टनारायण र गोपीकृष्ण हलमा उनीहरुको इन्ट्री भएपछि साथमा रहेका बडिगार्डलाई समेत दर्शकको भीड सम्हाल्न हम्मेहम्मे परेको थियो । अष्ट र गोपी हलको आँगनमा हजारौं दर्शकले अनमोल र सुहानालाई काँधमा राखेर बोकेका थिए । दुबैले दर्शकलाई धन्यवाद दिँदै फिल्ममा समावेश गीत पनि गाएर सुनाए । हलमा अनमोलसँगै सुहानाको क्रेज पनि गजब देखिएको थियो । अनमोललाई देखेपछि चिच्याउने र रुने युवतीहरु यसपटक पनि उतिक्कै भेटिए । 
 
प्रायः १८/२५ उमेर समुहका दर्शकहरु फिल्म हेर्न हल पुगेका देखिन्थे । फिल्म हेरेका निस्किएका अधिकांश दर्शकले राम्रो/नराम्रो दुबैथरी बोलेका छन् । फिल्मलाई मिश्रित प्रतिक्रिया बढी मिलेको छ । मध्यान्तरअघि जबरजस्ती हँसाउनकै लागि राखिएका दोहोरो अर्थ लाग्ने लामा-लामा संवाद र दृश्यलाई कतिपय दर्शकले अश्लिल भन्दै टिप्पणी गरेका छन् । कतिपय दर्शकले भने 'इन्जोय' गरेका छन् । समीक्षकको नजरमा भने फिल्म खरो उत्रिन सकेन । 
 
 
 
यद्यपि, फिल्म हेर्ने दर्शक/समीक्षक दुबैले अभिनेत्री सुहानाको कामको प्रशंसा गरेका छन् । उनलाई अबको स्टारको रुपमा हेरिएको छ । अनमोलको अभिनयमा यसपटक पनि निखारता नदेखिएको कतिपयको भनाई छ । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, रेअर राईलगायतका कलाकारहरुको अभिनय छ । निर्माण टिमको फिल्मको विकेन्ड कलेक्सन सार्वजनिक गर्ने तयारी छ । फिल्मले एक स्टार र फ्यानको प्रेमकथा वाचन गरेको छ । 
Most Visited News (monthly)