शुक्रवारदेखी प्रदर्शनमा उत्रिएको चकलेटी ब्वाई सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । एकसाथ प्रदर्शनमा आएको अर्को फिल्म ‘ए मेरो हजुर ३’ का कारण सुरुवाती विजनेशमा ठूलो असर पुगेको भएता पनि शुक्रवार राम्रो व्यापार गरेको वितरक तथा निर्माता शुशील पोखरेलले बताएका छन् । उनले शुक्रवार फिल्मले देशभर ६० प्रतिशत ओपनिङ अकुपेन्सी कायम गरेको बताए ।
.jpg)
.jpg)
‘‘वर्ड अफ माउथ’ बलियो भएका कारण शनिबारबाट फिल्मले पिकअप लिने आशा छ । शुक्रवारको व्यापारबाट हामी सन्तुष्ट छौं । फिल्म नै नचिलरहेको अवस्थामा केही हदसम्म भए पनि ‘यात्रा’ ले आशा देखाएको छ । फिल्मले लगानी उठाउँछ वा उठाउँदैन त्यो दोस्रो कुरा हो । हल पुगेर फिल्म हेर्नुभएका दर्शकले नराम्रो भन्नुभएको छैन, त्यही नै हाम्रो सफलता हो’’, फिल्मीखबरसँगको कुराकानीमा उनी सुनिए ।
शुक्रवार साँझ राजधानीको बिग मुभिजमा फिल्मको विशेष शो आयोजना गरिएको थियो । दर्जन बढी फिल्मकर्मी र पत्रकारहरुको साथमा बसेर फिल्मका कलाकार, निर्देशक र निर्माताले सँगै फिल्म हेरे । फिल्म हेरेपछि अधिकांशले राम्रो बोलेका छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ‘यात्रा’ लाई पैसा असुल फिल्म बताइन् । 'युथलाई जुरमुराउनका लागि यो फिल्मले ठूलो भूमिका खेल्छ', उनले भनिन् ।
सलिन र डेब्यू गर्ल मलिका महतको अभिनयको प्रशंसा गर्दै उनले अगाडि भनिन्, 'कलाकारहरु सबैको काम राम्रो छ । छायांकन पक्ष राम्रो लाग्यो । विदेशमा बसेर देश धेरै सम्झिनेहरुलाई चाहिँ यो फिल्म हेरेर मज्जा आउँछ । हेरुन्जेल फिल्मले हलमा बाँधेर राख्छ ।' हास्यजोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले फिल्म अत्यन्त राम्रो बनेको बताए । दुबैले डेब्यू गर्ल मलिकाको अभिनयको प्रशंसा गरे ।


कुञ्जनाले वृद्ध, युवादेखि बच्चासम्म सबैलाई मनपर्ने फिल्म बनेको बताइन् । हास्यकलाकार सन्दीप क्षेत्रीले लभस्टोरी फिल्म मनपर्ने दर्शकलाई ‘यात्रा’ ले निराश नबनाउने बताए । निर्देशक अपिल विष्ट भने अभिनेता सलिनको तारिफ गरेर थाकेनन् । उनी भन्छन्, 'समग्रमा फिल्म राम्रो बनेको छ । मलाई सलिनको काम चाहिँ राम्रो लाग्यो । 'ए मेरो हजुर २' मा उसको काम मलाई खासै चित्त बुझेको थिएन । दोस्रो फिल्ममा उसले राम्रो ग्रोथ गरेको छ ।'
अभिनेत्री रेखा थापा, निर्माता माधव वाग्ले, अभिनेता रमेश उप्रेती, निर्देशक दीवाकर भट्टराईलगायतले पनि फिल्म राम्रो बनेको र दर्शकलाई मनपर्ने बताएका छन् । यो फिल्मबाट डेब्यू गर्ल मलिकाले राम्रो सम्भावना देखाएकी छिन् । दृष्टिविहीन युवती तपस्याको भूमिका निभाएकी उनको अभिनय स्वभाविक लाग्छ । यस्तै, डेब्यू फिल्म 'ए मेरो हजुर २' मा सलिनको अभिनयलाई लिएर धेरै टिका-टिप्पणी भएका थिए । 'यात्रा' मा उनले आफूलाई निखार्न मिहिनेत गरेको देखिन्छ ।
.jpg)
.jpg)
फिल्म हेरेर निस्किँदै गर्दा कलाकार रेअर राईलाई कसैले विर्सन सक्दैनन् । अभिनय केही 'लाउड' भए पनि उनले आफ्नो भूमिकालाई भरपूर न्याय गर्ने प्रयास गरेका छन् । उनको उपस्थितिले दर्शकलाई हाँसोको कमी हुन दिँदैन । यही फिल्मबाट निर्देशनमा होमिएका सम्राट शाक्यले पनि राम्रो सम्भावना देखाएका छन् । अर्कोपल्ट उनीबाट दमदार फिल्मको अपेक्षा राख्न सकिन्छ । फिल्मको पहिलो हाफ भने केही लेन्दी लाग्छ ।

