Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेभिवेट भिडन्तः हलमा ‘ए मेरो हजुर ३’ भर्सेस ‘यात्रा’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/12
यस वर्ष नेपाली फिल्म क्षेत्रका लागि खासै सुखद रहन सकेन । न उपत्यकामा लागू भएको बक्सअफिस कार्यन्वयन हुनुसक्यो न त हरेक हप्ता हलमा फेरिएका एकाध फिल्मबाहेक अरुले लगानी उठाउनै सके । वर्षान्तरसम्म हलमा ९५ को आसपासमा फिल्म रिलिज भए । तर, 'नाइँ नभन्नू ल ५', 'छक्का पञ्जा ३' र 'जय भोले' मात्र सुपरहिट साबित भए । आधा दर्जन फिल्मले घिटिघिटी अवस्थामा लगानी उठाउन सके । 
 
बाँकी फिल्मको हालत सुनाउन लायक छैन । भित्तामा पोस्टर टाँस्नका लागि बनाइएको माडको समेत पैसा उठाउन सकेनन् । यस वर्ष न स्टारका फिल्म चले न त पावरफुल कन्टेन्ट भएका फिल्मलाई नै दर्शकले पत्याए । विगतका वर्षझैँ यस वर्ष पनि दर्शक र समीक्षकको रोजाई मिल्न सकेन । दर्शकले मनपराएका फिल्म समीक्षकलाई कमजोर लाग्यो । समीक्षकले तारिफ गरेका फिल्मलाई दर्शकले रिजेक्ट गरे । 
 
'छक्का पञ्जा ३' पछि हलमा दर्शकको उपस्थिति खासै उत्साहजनक देखिएको छैन । हरेक हप्ता निर्माताको करोडौंको लगानी बालुवामा पानी खान्याएझैँ भइरहेको छ । क्रेज र स्टारडम भएका कलाकारका फिल्मलाई समेत दर्शकले पत्याएका छैनन् । हल सञ्चालकहरु हलमा दर्शक नभएर झिँगा धपाउन बाध्य भएको गुनासो गरिरहेका छन् । फिल्मकर्मीहरु नेपाली फिल्मका दर्शक हराएको भन्दै चिन्तित देखिएका छन् । 
 
 
अहिले नेपाली फिल्मको व्यापार धरासायी अवस्थामा छ । आश गरिएका फिल्महरु हरेक हप्ता प्रदर्शनमा आए पनि हलमा माख्खो मार्न सकेका छैनन् । यसबीच, यस हप्ताका लागि शुक्रवारबाट यस वर्षका अन्तिम र निकै आश गरिएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनमा आएका छन् । ‘हेभिवेट भिडन्त’ को रुपमा हेरिएको यी दुई फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने आश फिल्मकर्मीलाई छ । 
 
तीन हलिउड फिल्मका कारण मल्टीप्लेक्समा कम सोज पाए पनि देशभर रहेका सय बढी सिंगल स्क्रिन भने दुई फिल्मलाई लगभग बराबरजस्तै मिलेको छ । ‘ए मेरो हजुर ३’ लाई अभिनेत्री टर्न निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् । यही फिल्मको दोस्रो सिरिजबाट उनी फिल्म निर्देशनमा होमिएकी थिइन् । यो फिल्मबाट उनले आफ्नी छोरी सुहानालाई आफ्नो विरासत थमाएकी छन् । ‘ए मेरो हजुर ३’ सुहानाको डेब्यू फिल्म हो । 
 
युवापुस्ताका दर्शकले पत्याएका अभिनेता अनमोल केसी फिल्ममा लिड रोलमा छन् । उनी भएपछि फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्छन् । ‘ए मेरो हजुर’ का दुई सिरिज सुपरहिट साबित भएका कारण तेस्रो सिरिजलाई पनि घरेलु बजारमा राम्रो कमाउनु पर्ने चुनौती छ । यसमा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय छ । सुनिल कुमार थापा फिल्मका निर्माता हुन् । 
 
यस्तै, ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाको दोस्रो फिल्म हो ‘यात्रा’ । यसमा उनी भ्लगरको भूमिकामा छन् । शहरिया युवापुस्तामा उनको राम्रो क्रेज भएका कारण फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने अनुमान फिल्मकर्मीको छ । सम्राट शाक्य निर्देशित फिल्ममा मलिका महत, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 
Most Visited News (monthly)