Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलिनमान भन्छन्, ‘जित-हार स्वीकार्य छ’

मनिष अन्जान, काठमाण्डौ, 2019/04/11
अभिनेत्री टर्न निर्देशक झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २' बाट जबरदस्त डेब्यू गरेका अभिनेता सलिनमान बनिया नेपाली फिल्म क्षेत्रका लागि आशालाग्दा अनुहार हुन् । पछिल्लो समय नेपाली फिल्ममा चकलेटी हिरोहरुको दबदबा रहेको बेला उनको आगमनलाई पनि धेरैले चासोपूर्वक हेरेका छन् । अहिलेका जल्दाबल्दा अभिनेताद्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी 'थ्रेट' हुनसक्ने विश्लेषण पनि कतिपयको छ । युवापुस्तामा उनको गजबको फ्यान फलोइंग छ । 
 
तर, सानैदेखि फिल्म क्षेत्र उनको रुचीको क्षेत्र भने थिएन । पिता विजनेशम्यान भएका कारण उनलाई पनि विजनेशतर्फ नै रुची थियो । आकर्षक लुक्सका कारण उनलाई पहिलादेखि नै धेरैले हिरो बन्ने सल्लाह भने दिन्थे । तर, उनलाई हिरो हुने कुनै रहर थिएन । एकदिन झरनाले 'ए मेरो हजुर २' अफर गरेपछि उनले एकपटक अभिनयमा प्रयास गर्ने सोच बनाए र फिल्म साइन गरे । फिल्मको छायांकन सुरु भएपछि उनले महशुस गरे अभिनय गर्न सजिलो हुँदो रहेनछ । 
 
 
जब फिल्मको 'कसम हो कसम' गीतको छायांकनका लागि घन्टौं हिँडेर विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक तिलिचो तालमा पुगेपछि उनले प्रण लिए 'अब कहिल्यै फिल्म गदिनँ' । उनले फिल्म नगर्ने निर्णय लिनुको पछाडि केही कारणहरु थिए । सम्पन्न परिवारमा हुर्किएका कारण उनले जीवनमा कहिल्यै खुल्लामा चर्पी गरेका थिएनन् । पहिलो पटक उनले तिलिचो तालमा खुल्लामा चर्पी गरे । प्रायः 'टाइम टेवल' मा खाना खाने उनले सुटिङ सेटमा समयमा खाना पनि खान पाउँदैन थिए । 
 
एक कफी भेटमा उनले भने- 'अरु बेला त खासै गाह्रो भएन । जब तिलिचो तालमा गीतको छायांकनका लागि पुगेँ तब चाहिँ अब फिल्म गर्दिन भन्ने कसम खाएको थिएँ । किनकि, खुल्लामा चर्पी गर्नुपर्थ्यो । मैले कहिल्यै खुल्लामा चर्पी गरेको थिइनँ । त्यहाँ विकल्प पनि थिएन । समयमा खाना खान पनि पाइँदैन थियो । मलाई भने प्रायः खाना पाइरहनु पर्थ्यो । म विरामी नै परेको थिएँ । मसँगै अरु पनि विरामी परेका थिए । सुटिङ गर्न मबाट सम्भव छैन भन्ने लागेर अब कहिल्यै फिल्म नै नगर्ने कसम खाएको थिएँ ।'
 
'ए मेरो हजुर २' नै आफ्नो जीवनको 'फस्ट एण्ड लास्ट' फिल्म भनेर बसेका सलिनको दोस्रो फिल्म 'यात्रा' शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । फिल्म नै नगर्ने भनेर बसेको मान्छे फेरि फिल्ममा केले तान्यो ? फिल्मीखबरको प्रश्नमा उनले केस्रा परेको कपाल दाँया हातले माथि फर्काउँदै भने- 'हो, म फिल्म गर्दिन भनेरै बसेको थिएँ । डेब्यू फिल्मपछि धेरै फिल्मबाट अफर पनि आएका थिए । तर, मैले अब फिल्म गर्दिन भनेर सबै रिजेक्ट गरेँ । 'यात्रा' को स्क्रिप्टले भने मलाई मेरो निर्णय तोड्न बाँध्य बनायो ।'
 
फिल्मको स्क्रिप्ट मन परेपछि 'यात्रा' हातबाट उम्काउन नचाहेको उनको भनाई छ । 'ए मेरो हजुर २' को गीत निकै हिट भएपछि उनमा फिल्ममा फेरि फर्किने सोच नपलाएको होइन । तर, फेरि उनको आँखा अगाडि सुटिङ सेटमा पाएको दुःखका दृश्य नाच्न थाल्यो । अनि पुनः फिल्म नगर्ने निर्णयमा उनी अडिक रहन्थे । तर, उनलाई दैनिक कुनै न कुनै फिल्मबाट अफर टुट्दैन थियो । फ्यानहरुले पनि दोस्रो फिल्म गर्न चर्को रुपमा दबाब दिन थालेका थिए । उनी भने अब पिताको बिँडो थाम्ने निर्णयमा पुगिसकेका थिए । 
 
 
फेरि फिल्ममा फर्किने निर्णय लिनुको कारण बताउँदै सलिनले भने- 'डेब्यू फिल्मको सफलतापछि म फिल्मबाट लगभग टाढिसकेको थिएँ । तर, दर्शकको मायाले भने मलाई भाग्न दिएको थिएन । मलाई रुचाउने दर्शकहरु निकै हुनुहुन्थ्यो/हुनुहुन्छ । जुन गीत खिच्दा अब फिल्म नै गर्दिन भनेर कसम खाएको थिए पछि त्यही गीतलाई दर्शकहरुले अत्याधिक माया गर्नुभयो । अनि लाग्यो, मैले दर्शकलाई विश्वासघात गर्नुहुन्न । मैले एकसेएक राम्रो फिल्म दिएर झन् दर्शकको मन जित्नुपर्छ । त्यसैबेला 'यात्रा' अफर आयो र स्क्रिप्ट मन परेपछि साइन गरेँ ।'
 
'ए मेरो हजुर २' पछि कहिल्यै फिल्ममा नफर्किने प्रण लिएका सलिनले फेरि एकपटक आफैँसँग वाचा गरेका छन्, 'अब सारा जीवन फिल्ममा खर्चिने छु ।' चिसो हुँदै गएको कफी एक सर्को लगाउँदै उनले अगाडि भने- 'अब न हरेस खाएर भाग्नेछु न त आलोचनाले तर्सिनेछु । दर्शकको माया पाउन जस्तोसुकै दुःख गर्न पनि अब म तयार छु । राम्रो-राम्रो फिल्म गर्नेछु । मेरो कमजोर अभिनयलाई पनि निखार्दै लग्नेछु । मलाई फिल्म गरेर पैसा कमाउनु छैन बस् दर्शकको अपार माया कमाउनु छ ।'
 
दर्जनौं फिल्म रिजेक्ट गरेर 'यात्रा' लाई दोस्रो फिल्मको रुपमा रोज्नुको कारण उनी स्क्रिप्ट मान्दछन् । यो फिल्मको स्क्रिप्ट सुन्दा नै 'गरुँ गरुँ' भन्ने लागिसकेको सलिन सुनाउँछन् । उनी भन्छन्, ‘‘यात्रा’ को स्क्रिप्ट सुनेपछि मेरो लागि दोस्रो फिल्म यो नै सही हुन्छ भन्ने लागेको थियो । मैले सोचेको जस्तै कथा थियो । दर्शकले पनि मनपराउनु हुन्छ भन्ने लागेपछि मैले फिल्म साइन गर्न ढिलो गरिनँ ।’’ आफूलाई हेरेरै यो फिल्ममा आफ्नो भूमिका लेखिएको उनको भनाई छ । उनी फिल्म दर्शकलाई मनपर्नेमा ढुक्क छन् । 
 
पहिलो फिल्म रिलिज हुँदै गर्दा उनमा खासै डर थिएन । किनभने, उनी अब फिल्म नै कहिल्यै नगर्ने निर्णय लिएर ढुक्कले बसेका थिए । तर, अहिले उनलाई जुन कुराको पहिला डर र चिन्ता थिएन दोस्रो फिल्म 'यात्रा' को रिलिज नजिकिँदै गर्दा त्यही कुराले सताउन थालेको छ । धेरैले यो फिल्म चल्ने प्रमुख आधार नै उनलाई मानेका छन् । उनको लोभलाग्दो क्रेजले फिल्मको इनिसियल बक्सअफिस राम्रो हुने कतिपयको अनुमान छ । उनी पनि आफूले चुनौती महशुस गरिरहेको बताउँछन् । 
 
ठूलो लगानीमा निर्माण भएका कारण फिल्मले घरेलु बजारबाट लगानी उठाउन मात्र ९ देखि १० करोडमाथि व्यापार गर्नुपर्ने छ । सोलो रिलिज पाएको भए सम्भव पनि थियो होला तर, यो फिल्मसँग एकै मितिमा अर्को प्रतिक्षीत फिल्म 'ए मेरो हजुर ३' पनि प्रदर्शनमा आउँदैछ । यसमा युवापुस्ताका ढुकढुकी अनमोल केसी लिड रोलमा छन् । यो फिल्मसँग भिड्नु 'यात्रा' लाई कम चुनौतीपूर्ण छैन । डेब्यू फिल्मको तेस्रो सिरिजसँग भिडन्त भएका कारण यो फिल्मलाई उछिनेर अगाडि बढ्नै पर्ने सलिनको सामुन्ने चुनौती पनि छ । 
 
 
'मैदानमा उत्रिएपछि जित र हार भनेको हुन्छ नै । हामी यसका लागि तयार पनि छौं । यद्यपि, हाम्रो टिमले फिल्मलाई राम्रो बनाउन कुनै कसर बाँकी राखेको छैन । हामीलाई फिल्मप्रति विश्वास छ । दर्शकको राम्रो साथ मिल्नेमा हामी सशंकित छैनौं', सलिन विश्वस्त देखिए । 'ए मेरो हजुर ३' सँग 'यात्रा' जुध्ने भएपछि आफूलाई चुनौती महशुस भएको उनी धक नमानि बताउँछन् । तर, उनी आफूलाई अनमोलसँग दाँज्दा भने खुसी छैनन् । आफूलाई अनमोलसँग दाँज्ने बेलै नभएको उनको भनाई छ । 
 
'म भर्खर २ कक्षाको परिक्षा दिँदैछु । उहाँ (अनमोल) ले ७ कक्षाको परिक्षा दिँदै हुनुहुन्छ । मलाई उहाँसँग दाँज्ने बेलै भएको छैन । मेरो र उहाँको फिल्म एकसाथ रिलिज हुन लागेका कारण दर्शकहरुले भने यसलाई प्रतिस्पर्धाकै रुपमा लिनुभएको छ । यसकारण पनि मलाई उहाँसँग दाँजिएको होला । तर, उहाँ मेगास्टार हुनुहुन्छ । नेपाली फिल्मको नम्वर वान नायक हुनुहुन्छ । म भर्खर आफूलाई स्थापित गर्न संघर्ष गरिरहेको छु', उनले भने । कुरालाई विट मार्दै उनले 'ए मेरो हजुर ३' लाई पनि सफलताको शुभकामना दिए । 
Most Visited News (monthly)