Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

सुहाना भन्छिन्, ‘म भगवान् कृष्णको फ्यान’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/11
नेपाली फिल्ममा स्टार किड्सको प्रवेश दिन-प्रतिदिन बाक्लिँदै गएको छ । अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, निरिषा बस्नेतलगायत धेरैले माता वा पिताको बिँडो थाम्न अभिनयमा होमिएका छन् । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ए मेरो हजुर ३' बाट फेरि नेपाली फिल्ममा एक स्टार किड्सको उदय हुँदैछ । सुहाना थापाले यो फिल्मबाट डेब्यू गर्दैछिन् । उनकी आमा झरना थापा नेपाली फिल्मकी नामी अभिनेत्री तथा निर्देशक हुन् । 
 
 
अमेरिकामा बसेर लामो समय अध्ययन गरिरहेकी सुहानालाई अभिनय गर्ने कुनै इच्छा थिएन । फिल्ममा प्रवेश नगर्ने अठोट बोकेरै उनी अध्ययनका लागि अमेरिका हानिएकी थिइन् । तर, पूरा परिवार नै फिल्ममा आबद्ध भएका कारण माता र पिताको आग्रहलाई सम्मान गर्दै उनी फिल्मकी हिरोइन भएकी छन् । आमा झरनाझैँ उनी लामो रेसको घोडा बन्न सक्छिन् वा सक्दिनन् ? त्यो भने हेर्न बाँकी छ । तर, उनीबाट दर्शक र फिल्मकर्मीले भने ठूलो अपेक्षा राखेका छन् । 
 
फिल्ममा उनी अभिनेतामा अहिलेका सर्वाधिक डिमाण्डेड र महँगा मानिने अनमोल केसीको अपोजिटमा छिन् । उनी फिल्ममा अनमोलको फ्यानको भूमिका निभाएकी छन् । रियलमा भने उनी कुनै सेलिब्रेटी फ्यान रहेनछिन् । धर्मकर्ममा निकै विश्वास गर्ने उनी आफूलाई भगवान् कृष्णको ठूलो फ्यान बताउँछिन् । 'फिल्ममा जस्तो रियलमा म कुनै सेलिब्रेटीको डाइहार्ट फ्यान भइनँ । म भगवान् कृष्णको ठूलो फ्यान हुँ', एक भेटमा उनी सुनिइन् । रोचक कुरा के छ भने अनमोल पनि कृष्णभक्त हुन् । 
 
 
 
 
 
फिल्मवृतमा अभिनेत्री तथा निर्देशक थापाले आफ्नो छोरीको सुखद डेब्यूका लागि 'ए मेरो हजुर ३' मा अनमोललाई लिएको चर्चा छ । के फिल्ममा अनमोल नभएको भए यति छिटो तपाईंको डेब्यू हुन्थ्यो ? पत्रकारको प्रश्नमा सुहानाले भनिन्, 'खोइ त्यो त मलाई थाहा छैन । तर, एउटा सत्य चाहिँ के हो भने अनमोल भएका कारण मलाई सजिलो अवश्य भएको छ ।' फिल्मको गीतसंगीत र ट्रेलरपछि हाइटका कारण अनमोलसँग उनको जोडी नसुहाएको प्रतिक्रिया थुप्रै आएका छन् । 
 
हाइटलाई लिएर प्रश्न उठ्छ भन्ने कुरामा डेब्यू गर्दैगर्दा कति जानकार हुनुहुन्थ्यो ? पत्रकारको प्रश्न पूरा नहुँदै उनले जवाफ फर्काइन्, 'मेरो पहिलो प्रश्न नै पिता (सुनिल कुमार थापा) लाई यही थियो । तर, उहाँले कलाकार बन्न हाइट नभइ अभिनय चाहिने भनेर 'कन्भिन्स' गरेपछि म फिल्म गर्न राजी भएको थिएँ ।' उनी सामाजिक सञ्जालमा आफ्नो हाइटलाई लिएर भएको टिप्पणीलाई सकारात्मक रुपमा लिन्छिन् । उनी आफू अभिनयबाट चिनिन चाहने बताउँछिन् ।
 
 
 
 
 
आफूलाई अभिनेत्री नभएर एक्टर भन्न रुचाउँछिन्, उनी । 'पहिला फिल्ममा 'बचाओ' भन्नेलाई हिरोइन भन्थे । अब हामीले यो शैलीलाई परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ', उनी अगाडि भन्छिन्, 'म चाहिँ हिरोइन नभएर एक्टर मात्र हुँ । म त्यो क्यारेक्टरमा कसरी हिरोइन भएर प्रस्तुत हुने भन्दा पनि कसरी 'एक्ट' गर्ने भनेर चाहिँ मेहनत गर्नेछु ।' 'ए मेरो हजुर ३' मा आफ्नो अभिनय दर्शकले नरुचाएको खण्डमा निर्मात्रीको रुपमा मात्र नेपाली फिल्ममा सक्रिय रहने उनको सोच छ । 
Most Visited News (monthly)