Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता शाहीको विश्वासः ‘लभ स्टेसन’ ले लगानी उठाउँछ

फिल्मीखबर, काठमाण्डौ, 2019/04/10
टर्किस फिल्म 'सेबिम्ली तेल्केली' हुबहु उतारिएको अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङ स्टारर फिल्म ‘लभ स्टेसन’ ले हलमा सन्तोषजनक व्यापार गरिरहेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन झरीका कारण बिहानीको सोजमा फिल्मले दर्शकको चर्को खडेरी खेप्नुपरेको थियो । दिउँसोबाट भने फिल्मले 'पिकअप' लिएको थियो । आइतवार पनि खासै राम्रो व्यापार गर्न नसकेको फिल्मको सोमवारबाट कलेक्सन ग्राफ केही उकालो लागेको छ । 
 
समीक्षकले कपी भन्दै फिल्मलाई कमजोर रेटिङ दिएका छन् । दर्शकबाट भने फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । राम्रो र नराम्रो भन्ने दर्शक लगभग बराबर छन् । अभिनेता प्रदीप र अभिनेत्री जसिता भने दर्शकले फिल्म रुचाएकोमा दंग छन् । उनीहरु दर्शकले फिल्म रुचाउनु नै आफूहरुको सफलता मान्छन् । प्रदर्शनको तीन दिनमा २ करोड कमाएको दाबी गरेका निर्माता गोविन्द शाहीले फिल्मले हलमा राम्रो व्यापार गरिरहेको बताउँछन् । 
 
'झरीका कारण शुक्रवार र शनिबार बिहान फिल्मको व्यापारमा ठूलो असर पुग्यो । दिउँसोबाट भने राम्रो व्यापार गरेको थियो । आइतबार सोचेअनुरुप भएन । तर, सोमवारबाट फिल्मले शुक्रवार र शनिबारकै अनुपातमा व्यापार गरिरहेको छ', मंगलवार दर्शक प्रतिक्रिया बुझ्न हल पुगेका निर्माता शाहीले बताए । उनी फिल्मले लगानी सुरक्षित गर्नेमा विश्वस्त छन् । 'अहिलेको जस्तै दर्शकको चाप अझै केही दिन रहे फिल्मले चाँडै लगानी सुरक्षित गर्छ', उनले भने । 
 
 
शुक्रवार आउने दुई ठूला फिल्म 'ए मेरो हजुर ३' र 'यात्रा' ले ‘लभ स्टेसन’ लाई असर नगर्ने पनि उनको भनाई छ । उनले भने- 'शुक्रवारबाट हाम्रो फिल्मले प्रदर्शनको एक हप्ता पूरा गर्छ । पहिलो हप्ता जुन हिसाबको फिल्मको अकुपेन्सी छ त्यसैको आधारमा दोस्रो हप्ता सोज पाउने हो । दोस्रो हप्ता पनि फिल्मले राम्रो सोज पाउने हामीलाई विश्वास छ । शुक्रवार आउने नयाँ दुई फिल्मले हाम्रो फिल्मलाई असर गर्छ जस्तो लाग्दैन ।' 
 
अभिनेता प्रदीप दर्शक प्रतिक्रियाले आफूलाई थप हौसला मिलेको बताउँछन् । 'दर्शकलाई इमोसनल बनाउन सकिन्छ, हसाउँदा-हसाउँदै रुवाउन सकिन्छ भन्ने फिल्म बनाउँदै गर्दा हामीले जे सोचेका थियौं अहिले त्यही नै भइरहेको छ । फिल्म हेर्दैगर्दा परिवार सम्झिएर धेरैजना इमोसनल हुनुभएको छ । हाम्रो मिहिनेत खेर गएन', प्रदीपको अनुहारमा खुसी देखियो । फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने उनको विश्वास छ । 
 
उज्ज्वल घिमिरे फिल्मका निर्देशक हुन् । प्रदीप र जसिताका अलावा फिल्ममा प्रकाश शाह, रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । यो सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म हो । आलोक शुक्लाको यसमा छायांकन छ । आमा छोरीको सम्बन्धमा फिल्म केन्द्रित छ । 
Most Visited News (monthly)