दर्शकमाझ अपरिचित भए पनि फिल्मकर्मीमाझ नयाँ अनुहार होइनन्, सम्राट शाक्य । करीब दुई दशक उनले नेपाली फिल्म क्षेत्रमै आफ्नो जीवनको अमुल्य समय विताइसकेका छन् । सहायक निर्देशकको रुपमा उनले दर्जनौं फिल्ममा आफ्नो क्षमता देखाए । नयाँदेखि पुराना प्रायः सबै निर्देशकसँग क्यामेराको पछाडि बसेर उनले काम गरेका छन् । अब दुई दशक लामो सहायक निर्देशकको अनुभवलाई सर्टिफिकेट मान्दै उनी औपचारिक रुपमा फिल्म निर्देशनमा होमिएका छन् ।
उनको डेब्यू निर्देशित फिल्म 'यात्रा' यही चैत २९ गते प्रदर्शनका लागि तयार छ । फिल्मले भ्लगरको कथा वाचन गरेको छ । फिल्ममा नयाँ र पुराना सबै कलाकारको समिश्रण छ । फिल्मबाट हिरोइनमा मलिका महतले डेब्यु गरेकी छन् भने पुरानामा राजाराम पौडेल, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । युवापुस्तामा गजबको क्रेज भएका सलिनमान बनिया लिड रोलमा छन् । गीतसंगीत र ट्रेलरबाट फिल्मप्रति दर्शकमा निकै ठूलो अपेक्षा छ ।
एक कफी भेटमा निर्देशक शाक्यले फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गरे । 'मैले करीब दुई दशक नेपाली फिल्ममा सहायक निर्देशक भएर विताएँ । यसकारण म नयाँ निर्देशक हुँ भनेर 'एक्सक्यूस' पाउँदिनँ । मैले आफ्नो तर्फबाट उत्कृष्ट दिन कुनै कसर बाँकी राखेको छैन । एउटा कुरा चाहिँ के निर्धक्क भन्न सक्छु भने दर्शकले फिल्ममा मनोरञ्जनको कमी भेट्नुहुन्न', उनी सुनिए । उनी फिल्मका हरेक कलाकारको कामबाट पनि सन्तुष्ट देखिए ।
शहरिया युवापुस्ता भ्लगबारे धेरथोर जानकार भए पनि गाउँ-घरका दर्शक यसबारेमा अनभिज्ञ छन् । फिल्ममा भ्लगको बारेमा विस्तृतमा बताउन नसकिए पनि धेरथोर जानकारी भने दर्शकले पाउने निर्देशक शाक्यको भनाई छ । 'यात्रा' ले उठाएको कथा नेपाली फिल्मप्रेमी दर्शकका लागि नयाँ हुने उनको विश्वास छ । दर्शकलाई मनमा राखेर फिल्म बनाएको बताउँदै उनले फिल्म हेरेर बाहिरिँदै गर्दा दर्शकले अरुका लागि पनि बाँच्नुपर्छ भन्ने पाठ सिक्ने बताए ।
.jpg)
नयाँ छिमलका अभिनेतामा आफूलाई पहिलो फिल्म 'ए मेरो हजुर २' बाटै प्रभावशाली प्रमाणित गरेका सलिनलाई फिल्म 'यात्रा' चल्ने प्रमुख आधार मानिएको छ । तर, निर्देशक शाक्य यो मान्ने पक्षमा छैनन् । उनी फिल्मलाई ब्रान्ड बनाउन र इनिसियल बक्सअफिसमा सलिनको महत्त्वपूर्ण हात हुने भएता पनि फिल्म कन्टेन्टले चल्ने तर्क राख्छन् । 'सिर्फ स्टारको कारणले फिल्म चल्थ्यो भने किन सुपरस्टारका फिल्म असफल हुन्थे ? टिमले राम्रो 'आउटपुट' निकाल्यो भने फिल्म चल्ने हो', उनले भने ।
'ए मेरो हजुर २' मा सलिनको लुक्स, हेयर स्टाइल र ड्रेसअपको निकै प्रशंसा भएको थियो । तर, अभिनयको धेरै आलोचना भयो । सलिनले डेब्यू फिल्मभन्दा 'यात्रा' मा अभिनय सुधार गर्न निकै मिहिनेत गरेको निर्देशक शाक्यको भनाई छ । उनी भन्छन्, 'एक्सनमा १ महिना र वर्कसपमा उसलाई झण्डै ३ महिना राख्यौं । अभिनय निखार्ने कुरामा हामीले सक्ने गरेका छौं । कमी-कमजोरी अझै होलान्/हुन्छन् तर, यसपटक उसको अभिनयलाई लिएर खासै ठूलो आलोचना होला भन्ने मलाई लाग्दैन ।'
नेपालमा पछिल्लो समय हिट फिल्मको सिक्वेल बन्ने ट्रेन्ड गजबले मौलाएको छ । ब्याज खानकै खातिर पनि सिक्वेल बन्ने गरेका छन् । 'यात्रा' को सिक्वेल बन्ने सम्भावना छ ? फिल्मीखबरको प्रश्नमा उनले सिक्वेलको बारेमा भने टिममा अहिलेसम्म छलफल नभएको बताए । 'फिल्म सफल भए एउटा ब्रान्ड बन्छ । सिक्वेल बनाउन प्रेसर पनि आउँछ । यदी 'यात्रा' सफल भएको खण्डमा सिक्वेल भन्ने सम्भावना भने रहन्छ', उनले भने । उनी फिल्म सफल हुनेमा ढुक्क देखिएका छन् ।
निर्देशक शाक्यले अभिनेता सलिनबारे बजारमा मडारिएका अनेकन हल्लाहरुको पनि खण्डन गरे । 'ए मेरो हजुर २' रिलिजपछि उनी घमण्डी रहेको चर्चा चलेको थियो । सम्राटले भने आफूले गएको एक वर्षमा सलिनमा एक प्रतिशत पनि घमण्ड नदेखेको बताए । 'आजसम्म उसले केही कुरामा गुनासो गरेको थाहा भएन । न त ऊ रिसाएको थाहा भयो', उनले अगाडि भने- 'सुरुमा उसले कतिपय फिल्मी भाषा बुझेको थिएन । सबैकुरा उसलाई बुझाउँदै पनि लगे । अहिले ऊ मलाई परफेक्ट लाग्छ ।'
डेब्यू फिल्मपछि सलिनले लगभग फिल्मबाट सन्यास लिइसकेका थिए । धेरै फिल्मको अफर नकारेर बसेका थिए । निर्देशक शाक्यले सलिनलाई भेट्न मात्र आफूलाई ६ महिना समय लागेको सुनाउँछन् । 'कथा मन परेपछि ऊ काम गर्न राजी भयो । जब उसलाई फिल्म गर्न मैले 'कन्भिन्स' गरे त्यसपछि ऊभन्दा 'प्यासन' लिएर हिँड्ने मैले अरु देखिनँ । उसले बिस्तारै आफ्नो कमी-कमजोरी सुधार गर्दै लगेको छ', उनी सलिनको तारिफ गरेर थाकेनन् । उनी फिल्म क्षेत्रमा सलिनको करिअर राम्रो देख्छन् ।

