‘प्रेमगीत’ नाम आफैंमा ब्रान्ड भइसकेको छ । यसको नाम मात्रैले पनि हलसम्म दर्शक तान्न सक्ने ल्याकत राख्छ । यस फिल्मका दुई सिरिजलाई दर्शकले निकै रुचाएका थिए । अब यसका निर्माता सन्तोष सेन ‘प्रेमगीत ३’ को तयारीमा जुटेका छन् । आउँदो वर्षको दशैं लगत्तै फिल्मको छायांकन गर्ने गरि अहिले स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई छेतन गुरुङले निर्देशन गर्दैछन् ।
यही फिल्मको सिरिजले अभिनेता प्रदीप खड्कालाई 'स्टार' बनाएको थियो । यस फिल्मको तेस्रो पार्टमा पनि उनी नै प्रमुख भूमिकामा हुनेछन् । उनले पहिलो पार्टमा पूजा शर्मा र दोस्रोमा अश्लेषा ठकुरीसँग रोमान्स गरेका थिए । तेस्रो पार्टमा नयाँ अभिनेत्री हुने बताइएको छ । प्राप्त जानकारी अनुसार, निर्माण टिमले अभिनेत्रीमा नीति शाहलाई अप्रोच गरेको छ । उनले फिल्मको 'वानलाइन स्टोरी' सुनिसकेकी छिन् ।
सोमवार अभिनेता प्रदीप अभिनीत नयाँ फिल्म 'लभ स्टेसन' हेर्न बिग मुभिज पुगेकी नीति स्वयंले 'प्रेमगीत ३' बाट आफूलाई अफर आएको खुलासा गरिन् । उनले फिल्म गर्ने सम्भावना प्रवल रहेको पनि बताएकी छन् । 'अहिलेसम्म पक्का चाहिँ भइसकेको छैन । यद्यपि, फिल्म गर्ने सम्भावना भने बढ्दै गएको छ । स्क्रिप्ट मनपर्यो भने 'प्रेमगीत ३' गर्नेछु । मलाई प्रदीपसँग काम गर्न मन छ', उनले भनिन् ।

निर्माता सन्तोषले पनि फिल्मीखबरसँग कुराकानी गर्दै नीति 'प्रेमगीत ३' मा हुने सम्भावनातर्फ संकेत गरे । 'हो, हामीलाई नीतिजस्तै लुक्स भएको हिरोइन चाहिएको छ । हामी सोचिरहेका छौं', उनले फिल्म अफर गरेको विषयमा भने बोल्न चाहेनन् । नीति र प्रदीपले साथमा डिसहोमको एक विज्ञापनमा काम गरेका छन् । यसमा यी दुईको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।
२०१७ मिस नेपालकी सेकेण्ड रनरअप नीतिको सुन्दरताको निकै चर्चा हुने गर्दछ । उनलाई धेरै फिल्मको अफर पनि भइसकेको छ । तर, उनले हालसम्म कुनै फिल्म गरेकी छैनन् । तपाईंलाई फिल्म गर्न केले रोकिरहेको छ ? 'लभ स्टेसन' हेरेर निस्किँदै गर्दा पत्रकारले उनलाई प्रश्न गरे । उनले भनिन्, 'रोक्न त केहीले रोकेको छैन । म सोचिरहेको छु । राम्रो स्क्रिप्ट आयो भने अवश्य गर्छु ।'
उनले 'लभ स्टेसन' र प्रदीपको तारिफ पनि गर्न भ्याइन् । प्रदीपको तारिफमा उनले भनिन्, 'उहाँ एक्टरसँगै 'ह्युमन विइङ' पनि एकदमै राम्रो हुनुहुन्छ । एकदम हम्बल हुनुहुन्छ । साम्राज्ञी, म र प्रदीपलाई चाहिँ डिसहोमको विज्ञापनले निकै 'क्लोज' बनाएको छ ।' उनले फिल्मबारे बताउँदै भनिन्, 'फिल्मको कन्टेन्ट राम्रो लाग्यो । फिल्ममा आमा-छोरीको सम्बन्ध देखाइएको छ । गीतहरु पनि मनपर्यो । कलाकारको काम पनि राम्रो छ ।'

