यही शुक्रवारबाट मुलुकभर प्रदर्शनमा आउन लागेको स्टाइलिस अभिनेता सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा’ टिमले मकै एपसँग सहकार्य गरेर एक क्विज प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा सोधिएको एक प्रश्नको सही जवाफ दिनेमध्येबाट एक भाग्यशालीले १ लाख नगद पाउने निर्माता मध्येका एक शुशील पोखरेलले जानकारी दिए ।

फिल्ममा डेब्यू गर्ल मलिका महतले तपस्याको भूमिका निर्वाह गरेकी छिन् । उनले आफ्नो आँखाको ज्योति कसरी गुमाउँछिन् ? भन्ने प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सनमध्ये एकमा टिक लगाउनु पर्नेछ । टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल पनि राखेर सबमिट गर्नुपर्ने निर्देशक सम्राट शाक्यले बताए ।
यस प्रतियोगितामा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन सक्नेछन् । सहभागिताको लागि https://meromakaii.com/yatra मा क्लिक गर्नुपर्नेछ । नेपालबाट विजेता भए १ लाख नगद र विदेशबाट भए ९ सय युएस डलर प्रदान गरिने प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए । यो प्रतियोगिता आउँदो चैत्र २९ गते विहान ८ बजे बन्द गरिने छ भने आउँदो वैशाख २० गते फेसबुक लाइभमार्फत् विजेता घोषणा गरिनेछ ।

फिल्म तपस्याको भूमिकामा देखिएकी मलिकाको वरपर घुमेको छ । फिल्ममा सलोन बस्नेत, रेअर राई, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा प्रविन सिंहको कोरियोग्राफी छ । यसलाई सञ्जय लामाले खिचेका हुन् ।

