Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ मेरो ड्रिम प्रोजेक्ट : अनमोल

फिल्मीखबर, काठमाण्डौ, 2019/04/08
पछिल्लो फिल्म ‘क्याप्टेन’ मा अभिनेता अनमोल केसी फुटबल खेलाडीको भूमिकामा देखिए । यसअघि फिल्म ‘कृ’ मा बदला लिनका लागि संगठित शरीर बनाए । 'होस्टेल' देखि 'गाजलु' सम्म आइपुग्दा लभरब्वाइको छवि बनाएका उनी अब हरेक फिल्ममा चरित्र फरक हुनुपर्ने मान्यता राख्न थालेका छन् । उनी अब लभरब्वाईको भूमिकामा मात्र अल्झिन चाहँदैनन् । तर, दर्शक भने उनलाई अझै लभरब्वाईकै भूमिकामा हेर्न चाहन्छन् । 
 
 
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ मा भने उनी लभरब्वाईकै भूमिकामा फर्किएका छन् । फिल्ममा उनले एक चर्चित गायकको भूमिका निभाएका छन् । यसअघि पनि उनले फिल्म ‘साथी म तिम्रो’ मा रकस्टारको भूमिका निभाएका थिए । तर, फिल्ममा उनलाई एक गीतमा मात्र देख्न सकिन्थ्यो । ‘ए मेरो हजुर ३’ मा भने उनी नै केन्द्रमा छन् । एक सेलिब्रेटी र फ्यानको प्रेमकथा फिल्मले भन्छ । 
 
सानैदेखि संगीतप्रति रुची र लगाव राख्ने अनमोलले आठ कक्षामा पढ्दा साथीहरुसँग मिलेर ‘एनटिओ सेभेन’ नामक म्यूजिक ब्याण्डको स्थापना गरेका थिए । यसमा उनी गितारिष्ट र भोकलिष्टको रुपमा थिए । यो ब्याण्ड अहिले निस्कृय छ । तर, अनमोलमा संगीतप्रतिको रुची अझै उस्तै छ । उनी प्रायः घरमा हुँदा र ट्राभल गर्दा म्यूजिक सुनेरै विताउँछन् । उनी आफ्नो पहिलो प्रेम नै संगीत रहेको बताउँछन् । 
 
 
फिल्ममा प्रवेश गरेपछि उनलाई म्यूजिकल लभस्टोरी फिल्म खेल्ने निकै ठूलो इच्छा थियो । तर, छैटौं फिल्मसम्म आइपुग्दा उनले यो अवसर पाएनन् । सातौं फिल्म ‘ए मेरो हजुर ३’ मा भने उनी गायक प्रेमको भूमिकामा प्रस्तुत भएका छन् । आफ्नो वर्षौदेखि मनमा गाँठो परेर बसेको इच्छा पूरा गर्ने अवसर पाएका कारण यो फिल्मलाई उनी आफ्नो ड्रिम प्रोजेक्ट भन्न रुचाउँछन् । यो फिल्म आफ्नो इमोसनसँग जोडिएको उनको भनाई छ । 
 
उनले भने- 'मलाई पहिलादेखि नै म्यूजिकल स्टोरी गर्ने ठूलो इच्छा थियो । म स्कूल लाइफमा हुँदा पनि पढाईभन्दा म्यूजिकतिरै बढी 'इन्ट्रेस्ट' थिएँ । यस हिसाबले पनि यसलाई मैले मेरो ड्रिम प्रोजेक्टको रुपमा लिएको छु । मैले देखाउन नपाएको म्यूजिकको 'स्किल्स' हरु पनि यस फिल्ममा देखाउन पाएको छु ।' फिल्ममा उनको फ्यानको भूमिका डेब्यू गर्ल सुहाना थापाले निर्वाहा गरेकी छन् । सुहानाझैं रियलमा पनि आफ्ना धेरै 'डाइहार्ट फ्यान' रहेको उनले बताए । 
 
 
दोस्रो पार्ट रिजेक्ट गरेर तेस्रो पार्ट गर्न चाहिँ कसरी कन्भिन्स हुनुभयो ? पत्रकारसँग एक भेटमा उनले भने- 'मलाई ‘ए मेरो हजुर २’ अफर भएको थियो । तर, इमान्दारपूर्वक भन्नुपर्दा त्यो क्यारेक्टरमा मैले आफूलाई भेटिनँ । मैले झरना दिदीलाई पनि यही भनेको थिएँ । ‘ए मेरो हजुर ३’ मा मेरो क्यारेक्टरमा मैले आफूलाई महशुस गर्न सकेँ र साइन गरेँ । ‘ए मेरो हजुर’ जस्तो सफल सिरिजमा आबद्ध हुनु पाउँदा म खुसी छु ।' 
 
‘ए मेरो हजुर ३’ लाई अभिनेत्री टर्न निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् । सुनिल कुमार थापा निर्मित फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, सरोज खनाल, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । 
Most Visited News (monthly)