Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीपजी, मौलिक कथाले दर्शक तान्दैनन् ?

मनिष अन्जान, काठमाण्डौ, 2019/04/07
नेपाली फिल्मलाई कथा वा दृश्य चोरीको आरोप लाग्नु नौलो होइन । वर्षौदेखि यो आरोपबाट नेपाली फिल्म मुक्त हुन सकेको छैन । पहिला पुराना दुई/चारवटा हलिउड र बलिउड फिल्मबाट कथा वा दृश्य उठाएर फिल्म बनाइन्थ्यो । प्रविधिले फड्को मारेसँगै अहिले विभिन्न देशमा बन्ने फिल्मबाट पनि हुबहु नक्कल गरेर नेपाली फिल्म बन्ने गरेका छन् । विभिन्न कालखण्डमा नेपालमा बनेका चर्चित फिल्महरु विदेशी फिल्मबाट कपी गरेर बनेका उदाहरणहरु धेरै छन् । 
 
दशक अगाडि त विदेशी फिल्मको कथा चोरेर नेपाली फिल्म बन्ने क्रम रोकिएको थिएन भने अहिले विश्व इन्टरनेटको पहुँचमा छ । विभिन्न माध्यमबाट विश्वमा बन्ने फिल्म घरमा बसेर सित्तैमा हेर्न पाइन्छ । यो सहज अवस्थामा विदेशी फिल्मबाट हुबहु नक्कल गरेर नेपाली फिल्म बन्न रोकिने त सवाल नै आउँदैन । तर, विदेशी फिल्मबाट हुबहु नक्कल गरे पनि दर्शकले पत्ता लगाउन सक्दैनन् भन्ने दरिद्र मानसिकता अझै फिल्मकर्मीमा व्याप्त छ । यसले नेपाली फिल्मले आफ्नै घरको दर्शक नराम्रोसँग भड्काइरहेको छ । 
 
वर्षौदेखि नेपाली फिल्ममाथि लाग्दै आएको चोरीको आरोपबाट अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काको फिल्म 'लभ स्टेसन' पनि अपवाद बन्न सकेन । फिल्मको ट्रेलरको एक दृश्य टर्किस फिल्म 'हर से असक्तन' सँग दुरुस्तै मिलेको थियो । अब पूरा फिल्म नै हुबहु मिलेको प्रमाण भेटिएको छ । यो फिल्म अर्को टर्किस फिल्म 'सेबिम्ली तेल्केली' को नेपाली अनुवाद हो । कथा मात्र नभएर प्रायः अधिकांश दृश्य पनि यही फिल्मबाट आयातित छ । सुरुवातदेखि अन्त्यसम्म फिल्म दुरुस्तै मिल्छ । 
 
रिलिजको पहिलो दिन नै फिल्म फोटोकपी रहेको पोल खुलेपछि यसले व्यापारमा समेत ठूलो प्रभाव पारेको छ । सामाजिक सञ्जालमा निर्देशक, लेखकदेखि कलाकारसम्मको चर्को आलोचना भइरहेको छ । फिल्मवृतमा यस फिल्मले फेरि ठूलो संख्यामा दर्शक भड्काएको टिका-टिप्पणी सुरु भएका छन् । दर्शकले सामाजिक सञ्जालमा फिल्मको चर्को रुपमा आलोचना गरिरहेका छन् । 'सक्कल बमोजिम नक्कल' समेत दुरुस्तै बन्न नसकेको समीक्षकहरुको टिप्पणी छ । 
 
शनिबार दर्शक प्रतिक्रिया बुझ्न हल-हल पुग्ने क्रममा अभिनेता प्रदीपले फिल्मबारे भएको समीक्षालाई लिएर आफ्नो विचार राखेका छन् । फिल्म हेर्ने वितिक्कै आउने समीक्षा फिल्ममाथिको समीक्षा नभएर आफूहरुमाथि प्रहार रहेको उनको जिकिर छ । उनले समीक्षकलाई समीक्षा कसरी र कहिले लेख्ने सिकाउँदै भने- 'फिल्म चलेको पहिलो हप्ताको अघिल्लो दिन (बिहीवार) साँझ समीक्षा गर्नुपर्छ । कस्तो फिल्म चल्यो ? दर्शक आए कि आएनन् ? यस्तो खालको समीक्षा गर्न चाहिँ अहिले आवश्यक छ ।' 
 
 
उनले समीक्षा गर्न हतार भएको भन्दै अगाडि थपे- 'दर्शकले फिल्म निकै रुचाएका छन् तर समीक्षकको नजरमा कमजोरी देखिएको भए त्यस फिल्मको मेकर्ससँग सल्लाह गरेर अब नेपालीपनको फिल्म दिनुपर्छ भनेर समीक्षा गर्नुपर्छ । अहिलेको चाहिँ सिध्याइहालौं, ढालिहालौं, खत्तम बनाइहालौं भन्ने खालको भयो । यो समीक्षा नभएर प्रहार हो । एक हप्तासम्म फिल्मले कस्तो गर्‍यो ? भनेर चाहिँ समीक्षा गर्नुपर्छ ।' उनको भनाइले फिल्मको समीक्षा दर्शकको प्रतिक्रियाअनुसार हुनुपर्ने तर्क राख्छ । 
 
तर, उनले भनेको जस्तो समीक्षा सम्भवतः संसारमा कहीँ हुँदैन । समीक्षामा फिल्मको कमी-कमजोरी, त्रुटि, राम्रा र सुधार गर्नुपर्ने पक्षलाई औंल्याइन्छ । न दर्शकको प्रतिक्रिया अनुसार न त फिल्मको व्यापारलाई हेरेर नै समीक्षा गरिन्छ । फिल्म रिलिज भइरहँदा नकारात्मक समीक्षाले धेरथोर व्यापारमा असर पुग्ने हुँदा सम्बन्धित निर्माता वा कलाकारलाई तनाव हुनु स्वभाविकै हो । तर, प्रदीपले फिल्मको नराम्रो समीक्षा आयो भनेर चित्त दुखाउनुभन्दा अगाडि फिल्ममा भएका कमी-कमजोरीलाई आत्मसात् गर्न आवश्यक छ । 
उनले 'लभ स्टेसन' फोटोकपी भेटिएको विषयमा पनि आफ्नो मुख खोलेका छन् । उनले सोझै भन्न नसके पनि घुमाउरो शैलीमा फिल्मको कथा र दृश्य चोरिएको स्वीकार गरे । उनले कथा चोरीको विषयमा आफूलाई थाहा नहुने बताउँदै लेखक र निर्देशक भने सन्तुष्ट रहेको बताए । उनले भने- 'पहिलो त राम्रो स्क्रिप्टका लागि फिल्म निर्माण कम्पनीले लेखक र निर्देशकलाई प्रशस्त समय र राम्रो पारिश्रमिक दिनुपर्छ । तर, अहिले हामीलाई यहाँ भएको रिसोर्सेजअनुसार काम गर्नुपर्ने अवस्था छ ।'
 
फिल्म प्रभावित भएर बनेको भएता पनि राम्रो बनेको छ वा छैन भन्ने कुरा महत्त्वपूर्ण रहेको उनी बताउँछन् । 'फिल्मलाई दर्शकले रुचाउनुभएको छ कि छैन ? घरमा बस्नुभएको दर्शक हलसम्म आउनुभएको छ कि छैन ? यो महत्त्वपूर्ण कुरा हो । 'लभ स्टेसन' बाट दर्शक सन्तुष्ट हुनुहुन्छ', उनले अगाडि भने- 'आज हामी कहीँ कतैबाट प्रभावित भएर फिल्म बनाइरहेका छौं भने भोली दर्शकले 'ट्रस्ट' गर्न थालेपछि हाम्रै कन्टेन्टहरु 'रेल्स' गर्न थाल्छौं । अहिले फिल्ममा दर्शकलाई आकर्षित गरौं ।' 
 
तर, प्रदीपको भनाईले अनेकन सवाल जन्माउँछ । के नेपाली फिल्ममा दर्शकलाई आकर्षित गर्न विदेशी फिल्मबाट कथा चोर्नुको अरु विकल्प छैन ?, विदेशी फिल्मको हुबहु नक्कल गर्नु नेपाली फिल्मकर्मीको बाध्यता हो ?,  मौलिक कथा भन्ने आँट फिल्मकर्मीले गर्न नसकेकै हुन् त ? प्रश्न उब्जाएको छ । अचेल नेपाली फिल्ममा सृजनशिलता र मौलिकता हराउन थालेपछि नेपाली फिल्मप्रति दर्शकको चासो कम भएको कतिपयको बुझाई छ । प्रदीप भने मौलिक कथा पस्किनुभन्दा अगाडि दर्शकले फिल्मप्रति विश्वास गर्ने वातावरण तयार हुनुपर्ने बताउँछन् । 
 
उनको भनाइले अझै नेपाली फिल्ममा मौलिक कथा पस्किने समय नआएको रुपमा अर्थ्याउँछ । तर, पछिल्लो समय नेपाली दर्शक फिल्ममा आफ्नै परिवेशको कथा खोजिरहेका छन् । दृश्यभाषा सशक्त भए मौलिक कथामा बनेका फिल्म चल्छन् भन्ने उदाहरण 'छक्का पञ्जा', 'कबड्डी' जस्ता फिल्मले प्रमाणित गरिरहेका छन् । तर, दुर्भाग्य ! दर्शकले पत्याएका अभिनेताको फिल्म नै विदेशी फिल्मको फोटोकपी भेटिन थालेका छन् । यसले नेपाली फिल्मप्रति दर्शकको विश्वास झन् गुम्ने देखिन्छ । 
Most Visited News (monthly)